२४ भाद्र २०७८, बिहीबार

नेपालगन्ज । अर्को हप्ता जबर्जस्ती मेरो कपाल खुइलाइएको थियो र भिक्षुको झोली पहिराइएको थियो मलाई । तिमीलाई के बताऊँ आलोक ! मलाई कस्तो महसुस भएको थियो ? मानौँ तिमीलाई कसैले चरप्प समाएर दुलहीको कपडा पहिराइदिन्छ र मण्डपमा लगेर कुनै केटाको दुलाही बनाएर थेचारिदिन्छ, के तिमीले कल्पना गर्न सक्छौ आलोक ! कि तिमी कुनै केटाको बेहुली भएर बिहेको मण्डपमा बसेको रु मलाई त्यो व्रतबन्ध गर्नु त्यस्तै हिसाबले मर्नु झैँ भइरहेको थियो । टाउकोबाट जति रौँहरू खौरिएर झरे, आँखाबाट उति नै थोपा आँसु पनि खसे होलान् तर म निरुपाय थिएँ, विवश थिएँ । म रोइरहेँ, व्रतबन्धको प्रक्रिया चलिरह्यो ।

व्रतबन्धपछि मलाई बाहिर निस्कन मनै लाग्न छोड्यो । त्यो मुडुलो टाउको जब जब ऐनामा देखिन्थ्यो, मन उजाड भए जस्तो हुन्थ्यो । कत्ति दिनसम्म स्कुल पनि गइनँ तर बाबाले स्कुल नजाँदा सुम्ल्याउन थाल्नुभयो ।

करैले जानुप¥यो स्कुल पनि । कपाल कहिले पलाउला भनेर दिनहुँ ऐना हेर्न थालेँ । जिउमा लगाएको जनै पनि काउसो जस्तो लाग्थ्यो मलाई । सिक्सिक् बनाउँथ्यो । केही महिना सिक्सिकाउँदै पनि लगाएँ तर एक दिन निकालेर मिल्काइदिएँ । कसैलाई केही पनि भनिनँ । सोधे भने नुहाउँदा हरायो भनिदिउँला भन्ने सोचेँ ।

म लुरुलरु स्कुल जान्थेँ र घर फर्किँन्थेँ । साथीहरूको खिसीट्युरी सहनु अब मेरो नियति नै बनिसकेको थियो । कसैले मेरो भावनालाई बुझ्ने कोसिस गर्दैनथ्यो । बदमास केटाहरू सधैँ मेरो मजाक उडाउँथे । केटा साथीसँग म कहिल्यै झ्याम्मिन सकिनँ । अझै पनि दिदीसँगै स्कुल आउने जाने गर्थेँ । ती दिनहरूमा दिदीको शरीरमा निक्कै परिवर्तनहरू आइरहेका थिए ।

कम्मर बाटुलो हुँदै गएको थियो । छातीहरू बढ्दै गएका थिए । कहिलेकाहीँ एकान्तमा म आफ्नो गन्जी फुकाल्थेँ र आफ्नो सम्म परेको छाती मुसार्थेँ । म सोच्थेँ मेरो पनि दिदीको जस्तै गोला गोला छाती पलाइदिए नि हुन्थ्यो ! दिदीले ब्रा लगाउन थालेकी थिई । म पनि कल्पना गर्थेँ दिदीको जस्तै पलाएको छातीमा ब्रा लगाएको तर स्थिति त्यस्तो थिएन । मेरो छाती पलाउने कुनै सङ्केत नै थिएन । छाती समथर बाँझो थियो, दोभानमा फूल फुलेको थिएन, काँडो उम्रिएको थियो । ‘तँ केटा मान्छे होस्, केटा मान्छे, बुझिस् ?’ कहिलेकाहीँ म आफैँसँग झर्किन्थेँ र आफैँलाई गाली पनि गर्थेँ । त्यो फगत् आफ्नो मनलाई ढाँट्ने दुष्प्रयास मात्र थियो ।

अरूसँग व्यक्त गर्न नसकिने, सके पनि कसैले विश्वास नगर्ने तर मलाई अमिलो बनाउँदै लगेको मेरो भावनालाई म कसरी शान्त पार्न सक्थेँ र ? भित्रभित्रै कुडिँदै गएकी थिएँ म । बदलिँदो त्यो उमेर हुँदै गर्दा समेत मेरो आवाज खुलेर आउन सकिरहेको थिएन ।

पातलो थियो आवाज मेरो, जस्तो हुन्छ अरू केटीहरूको । केवल त्यो पुरुष अङ्ग थियो जसले मलाई चिच्याई चिच्याई पुरुषको परिचय दिलाइरहेको थियो । बाँकी सबै भावभङ्गीले, मेरो मनले, स्वभावले, विचारले त म केटी नै थिएँ । तर त्यही एउटै अङ्गले दिएको परिचयबाट मात्रै मलाई मानिसहरूले चिन्थे र केटा हो भन्थे । उनीहरूले मेरो अरु भाव पढ्न सकेनन् । मलाई कहिल्यै कसैले चिन्ने कोसिस नै गरेन ।

एवम् रीतले समय अघि बढ्दै थियो । सात कक्षाको वार्षिक परीक्षा चल्दै थियो । एउटा बेञ्चमा दुई जनाको सीट प्लानिङ्ग भएको थियो । म पछाडिबाट दोस्रो नम्बरको बेन्चमा परेकी थिएँ । मेरो छेउमा नौ कक्षाको एउटा बदमास केटो परेको थियो । शरद उसको नाम । अरूलाई जिस्काउन माहिर थियो शरद । झगडा गर्न सधैँ अघि तम्सिने स्वाभाव उसको । तर मलाई भने उसले अझसम्म केही भनेको थिएन । कहिल्यै जिस्काएको पनि थिएन । कालो कालो रङको, दारपात पनि कँठिलो थियो उसको ।

गणितको परीक्षाको दिन थियो । अङ्ग्रेजी पढाउने सर हाम्रो कक्षामा गार्ड पर्नुभएको थियो । सर कडा मिजासको हुनुहुन्थ्यो । म सजिला प्रश्नहरूको उत्तरहरू लेखिरहेकी थिएँ । यत्तिकैमा शरदले गोजीबाट कागजको एउटा चीट निकाल्यो । बेञ्चको छेल पारेर त्यसलाई खोल्यो र तिघ्रामा राख्यो अनि सरको आँखा छल्दै सार्न थाल्यो ।

मैले छड्के आँखाले सबै देखिरहेकी थिएँ । कता कताबाट सरलाई सन्देह भएछ । सर अगाडिबाट सरासर पछाडि आउन थाल्नुभयो । शरदले जब देख्यो समय एकदम कम थियो । चीट समाएर पोको त पार्न भ्यायो तर गोजीमा हाल्ने समय थिएन ऊसँग । उसले चीटलाई फुत्त भुईँमा मतिर फाल्यो । मतिर हेर्दै त्यो चीट लुकाइदिन भन्यो । सरले उसलाई उठाउनुभयो ।

मलाई डर लागेको थियो तर पनि बसी बसी चप्पल खोलेँ र खुट्टाको औँलाले तानेर त्यो चीट आफूतिर ल्याएँ । चप्पल र पैतालाको बिचमा त्यसलाई च्यापेँ । उता सरले उसको सबै गोजी छामछुम गर्नुभयो । खुट्टा मुन्तिरको भुईँतिर पनि हेर्नुभयो । चीट कतै नभेटेपछि अगाडि फर्किनुभयो । सर गएपछि ऊ मतिर फर्कियो र खिस्स हाँस्यो । त्यसको एकछिनपछि उसले त्यो चीट मसँग माग्यो र फेरी उसैगरी सार्न थाल्यो ।

त्यो दिन परीक्षा सकिएपछि बाहिर शरदसँग मेरो भेट भयो । कहिल्यै मसँग कुरा नगर्ने उसले मलाई परीक्षा कस्तो भयो भनेर सोध्यो । म छक्क परेँ । उसको सोधाइमा कुनै हेपाहा भाव थिएन मप्रति । त्यो कुराले म झन् पुलकित भएकी थिएँ त्यो दिन । त्यसपछि परीक्षा अवधिभर उसको र मेरो राम्रो बोलचाल भइरह्यो ।
परीक्षा सकिएर नतिजा आएपछि नयाँ कक्षा सुरु भयो ।

अब दिदीको स्कुल सकिएको थियो । दिदीलाई फेदीमा डेरा गरेर पढाउने इच्छा थिएन बाबाको । दिदी पढ्न चाहन्थी तर उसले बुझेकी थिई कि बाबालाई त्यो स्वीकार्य थिएन । उसै त मेरो कारण घरको बदनामी भएको अनुभूति गर्नुहुन्थ्यो बाबा, केही जाने सहरमा बसेर दिदीले बाटो बिराई भने रु बाबालाई यही कुराको धेरै चिन्ता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV