२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् ।

क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै वडा अधिवेशन नगरी पालिका अधिवेशन नगर्न उनको प्रस्ताव छ । विवादमा रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेलधुराका वडा अधिवेशन २५ भदौ अर्थात् भोलि गर्ने तयारी भए पनि हालसम्म निश्चित भइसकेको छैन ।

पौडेलको प्रस्तावमा देउवा पनि सकारात्मक रहेका कारण पालिका अधिवेशन सर्ने निश्चितजस्तै भएको पौडेलले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार देउवा ५ असोजमा हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी पालिका अधिवेशन सार्न सकारात्मक बनेका छन् ।

यसैबीच, आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार देउवालाई पत्र लेख्दै क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र पालिका अधिवेशन गर्न आग्रह गरेका थिए ।

बुधबार नै अर्का नेता शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म पालिका अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV