२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सत्ता गठबन्धन र सरकारले लोकतन्त्रको हुर्मत लिन र समाप्त पार्न खोजेको आरोप लगाएका हुन् ।

कथित गठबन्धन रहेका दलले लोकतन्त्र मास्न लागेको भन्दै उनले गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने स्पष्ट पारे । त्यस्तै अध्यक्ष ओलीले सरकार लोकतान्त्रिक विधि, पद्दति र प्रक्रियाबाट नभई परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नहुने बताए ।

उनले रातारात छापामार शैलीमा संसद अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै लोकतन्त्रको उपहास भएको उल्लेख गरे । राजनीतिक दलले अर्को दल फुटाउन अध्यादेश ल्याएर गरेको षडयन्त्र कल्पनाबाहिर नै घटना भएको उनको भनाइ छ ।

त्यस्तै ओलीले सभामुखको भूमिका एमालेविरुद्धको षडयन्त्रको मतियारको रुपमा रहेको आरोप लगाए । एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको पनि उनको दाबी छ ।

उक्त बैठकले नेकपा (एमाले)ले राजनीतिक दल सम्बन्धीको अध्यादेशबारे विरोध गर्ने निर्णय गरेको छ भने सभामुखले माओवादी कार्यकर्ताको भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV