२३ भाद्र २०७८, बुधबार

गण्डकी ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताउनुभयो ।

पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तक्र्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंङर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उहाँको भनाइ छ ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहनुभएको नेता पाण्डेले भन्नुभयो, “पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पु¥याएको छ ।”

पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताउनुभयो । एकमना सरकारलेसमेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उहाँको भनाइ छ ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “एमसिसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्नेमा जोड दिँदै उहाँले यसका गतल र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV