२३ भाद्र २०७८, बुधबार

काठमाडौं । शहरमा गाली पुराणको सप्ताह नै चलेको छ । हरेक पार्टीका कार्यालय र कार्यक्रमका लागि उनीहरुले चुनेको स्थानमा गाली पुराणको सप्ताह नै लागेको छ ।

अहिले गाली पुराणका अध्यायहरु विशेषत नेकपा एमाले र नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक जनता समाजवादी पार्टी लोसपामा केन्द्रित छ ।

हिजो एकै ठाउँ थिए त्यसैले उनीहरुको बारेमा एक अर्कालाई थाहा हुनु स्वभाविक हो । तर अहिले लाजमर्नु त जनतालाई पो हुन थाल्यो । किनभने थाहा नभएको र थाहा हुन नहुने सबै कुराहरु जनतालाई ज्ञात हुन थाल्यो ।

माधवकुमार नेपालले नयाँ पार्टी खोलेर देशभरका एमाले नेता कार्यकर्ता आफ्नो पार्टीमा ल्याउन लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तोसराप गर्दै नेपालले एमालेकाहरुलाई आफ्नो पक्षमा तानेको तानेकै छन् ।

लाग्छ नेपालका लागि अहिले ठूलो अवसर नै जुटेको छ । प्रदेशका सांसददेखि मन्त्री र जिल्ला तिर त कुनै संगठन ख्वार्लाप्पै उनी पछि लाग्न थालेका छन् ।

यही रफ्तार रहे एमालेलाई संकट नै पर्ने हो कि झै पनि बनिसक्यो । तर एमालेकाहरु यसलाई सत्ता र शक्तिको फुर्ती भन्दा बढी केही ठान्दैनन् ।

उनीहरु अवसरवादीहरुको चलखेल मात्र ठान्छन् । अझ अध्यक्ष ओलीले नेपालको पार्टीलाई प्युसो भन्दै एमालेसंग फुर्ती नलाउन चेतावनी पनि दिइसकेका छन् ।

ओलीको नेपालमाथि आरोप अलिअलि मात्र कहाँ हो र नानाभाँती नै छ । प्रधानमन्त्री बन्न राजालाई दाम चढाएको, हुलाकबाट निवेदन हालेको र पैसाको लोभमा क्रिश्चियन र बुद्धिष्ट बनेर देशविदेश घुमेको ।

यता माधव नेपाल पनि के कम छन र ओलीमाथि उनले लगाएको आरोपले एउटा पुस्तक नै बन्ने गरि गालीका अक्षरहरु कुँदिएका छन् । होली वाइनदेखि यति प्रकरण ओलीको टाउको माथि खन्याएका छन् उनले ।

सरकार मनमौजी तवरले चलाएको मात्र होइन आफ्ना खास मान्छेलाई मात्र अवसर दिएर जताततै आफ्नोवाद लागू गरेको आरोप पनि नेपालको छ ।

संयोगवश अहिले एमाले र एकीकृत समाजवादीको कार्यक्रम नभएको दिन नै छैन ।
कार्यक्रम ओली एकातिर र नेपाल अर्को तिर उभिएर जुहारी जारी राखेका छन् । दुबै नेतालाई उचाल्ने पछौटेहरुको कमि पनि छैन् ।

ओलीलाई महान ठान्नेहरुले नेपाललाई कायर र दलद्रोही मान्छन । उता ओलीलाई कसिंगर ठान्नेहरु नेपाललाई कुचो नै मान्छन् ।

यही हो नेपालमा मन परेकालाई देवत्करण गर्न कोही पछि पर्दैनन र मन नपरेका लागि रावण ठान्न पनि पछि पर्दैनन ।

यता जसपा र लोसपाको ताल पनि उस्तै छ । आफुहरुलाई मधेसको मसिहा मान्नेहरु मधेस विर्र्सेर सत्ता र कुर्सीको लडाईमा व्यस्त छन् ।

महन्थ ठाकुरको शब्द सापटी लिने हो भने मधेस हितकोविरुद्ध उभिएका खलनायक हुन उपेन्द्र यादव । केही समय अघि उपेन्द्र यादवको भण्डाफोर अभियान लिएर तराई मधेसका धेरै जिल्ला घुमे महन्थ ठाकुर ।

यता उपेन्द्र यादव पनि के कम उनले पनि ठाकुरलाई केपी ओलीको प्रतिगमनको मतियार भएको आरोप लगाउँदै मधेसी जनताको जनभावनाको सम्मान गर्न नसकेको आरोप थोपरेका छन् ।

यादवको शब्दमा ठाकुरले अब मधेसको नाममा राजनीति नगरे हुन्छ । आरोप प्रत्यारोपको यो खात थपिदो छ ।

विचरा मधेस यो आरोप प्रत्यारोपबीच मौन छ ।

नेपालको राजनीति विषम बन्दै गर्दा दलहरुबीच घिनलाग्दा खेलहरु जारी छ । जनताको कान पाकिसके, थाक्नसम्म थाकिसके । तर नेताहरु थाकेका छैनन् । लाग्छ गालीगलौज उनीहरुको संस्कार नै हो । गालीगलौज विना उनीहरुको राजनीति पनि चल्दैन ।

अझै के कस्ता सुन्न नसकिने कुराहरु बाहिर आउने हुन् त्यो पनि कुनै दिन नेताहरुको मुखबाट फुस्केला नै । अरुलाई एउटा औंला देखाउनेले आफूतिर फर्केका चार औंलालाई सम्झिनै पर्छ नेता ज्यूहरु । जनताले तपाईहरुको रमिता हेरेर बसेकै छन् ।
आखिरी रमिता देखाउने भन्दा माथि तपाईहरुको जिम्मेवारी नै के रहयो र रु दलहरुको ताल हेर्दा देशले दुर्गती भोग्ने नियति जारी छ ।

देश धेरै ठाउँ लुटिएको छ, कमजोर बनाइएको छ , धेरै ठाउँ हेपिएको पनि छ । गरीबको बर्को र परिचय बोकेर उभिएको यो देशले सहयोगको नाममा धेरै हस्तक्षेप स्वीकार्दै आउनु परेको छ ।

कुनै दिन नालापानीमा इतिहास र देशको भूगोल बचाउँदा यही देशका पुर्खाहरुले ७० दिनसम्म पानी पनि खान नपाई लडे । तर अहिले कालापानी हरण हुँदा पनि उस्कै नुनको भक्ति गाउनु पर्ने लाजमर्दो स्वाभिमान बोकेर बाँचिरहनु परेको छ ।

धिक्कार्ने छ पक्कै यो पुस्तालाई भावि पुस्ताले । इतिहासमा लेख्न लायक हरफ नै के रहयो र यो पुस्ताको । लाजले इतिहासका पन्ना च्यात्नु भन्दा पर अर्को कुनै गर्वका हरफ भावि पुस्ताले पक्कै पाउने छैनन् ।

धिक्कार छ यो पुस्तालाई जस्ले इतिहासमा कोरिएका गर्वका अक्षरहरुमाथि अन्य अक्षरहरु थप्न पनि सकेन् ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV