२३ भाद्र २०७८, बुधबार

गुल्मी । कानून कार्यान्वयनको अभाव र मनिसहरुमा कानून छ भन्ने अनुभूति र भय समेत नहुँदा समाजमा जघन्य अपराधका घटना बढ्दो छ ।

राजनीतिक दलहरु र तिनका नेताहरुको प्रभाव र दबाबका अघि कानून निरिह बन्दा जस्तोसुकै घटनामा पनि दोषीले उन्मुक्ति पाउने प्रवृति बढ्दो छ ।

कानून निरिह बन्दा टाउको उठाउने अपराधले हो भने फाइदा उठाउने अपराधीले हो । यस्तै भएको छ गुल्मीको एउटा घटनामा पनि । हाडनाता भित्रको एक पुरुषबाट बलात्कारको शिकार बनेकी एक बालिकालाई न्याय दिन नभइ उनीमाथि अन्याय थप्न स्थानीय जनप्रतिनिधि र नेताहरु लागिपर्दा कारवाही भोग्नु पर्ने एक युवक नाबालक भएको नाममा प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

घटना ढाकछोप गर्न १० लाखसम्म दिने प्रस्ताव राख्दै पीडितलाई बचाउन दलका नेताहरु र स्थानीय जनप्रतिनिधि लागेपछि पीडित परिवारले न्यूज २४ संग न्यायका लागि गुहार मागेका छन् ।

११ बर्षीया बालिका हाडनाता पर्ने दाजुबाट बलात्कृत

गत साउन २० गते मदाने गाउँपालिका–१ को अग्लुङ्ग गाउँकी ११ बर्षीया बालिकालाई हाडनाता पर्ने १७ बर्षीय दाजुबाट बलात्कृत भइन । तर यो जघन्य अपराधलाई ढाकछोप गर्न अहिले पीडक परिवारको तर्फबाट स्थानीय जनप्रतिनिधि र नेताहरु लागि परेका छन् ।

पीडितको उजुरी पछि गत साउन २६ गते पीडक अर्थात बलात्कारी युवकलाई प्रहरीले पक्राउ गरेको थियो । तर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गर्दै गर्दा सल्बलाएको स्थानीय जनप्रतिनिधि र दलका स्थानीय नेताहरुको प्रभावले आरोपी बालक नाबालक भएको बनिबनाउ तर्कको आधारमा छुटे ।

आरोपी छुटेपछि घटनालाई थप अघि नबढाउन र बलात्कारको घटना गाउँमा नै मिलाउन पीडित परिवारमाथि दबाब बढेपछि उनीहरु न्यूज २४ संग हारगुहार गर्न आइपुगेका छन् ।

पीडित परिवार दबाबमा, १० लाख लिन प्रस्ताव

पीडित परिवारले अहिले आफुहरु गाउँमा एक्लो भएको महसुस गर्न थालेका छन् । अदालतमा मुद्दा लड्दा सम्पत्ति सकिने त्रास देखाउँदै १० लाख लिएर चित्त बुझाउन दलका नेताहरु र स्थानीय प्रतिनिधिले दबाब बढाउदै आएका छ । पीडित परिवारले दबाब सहन नसकेर आफुहरु न्यूज २४ को सम्पर्कमा आएको बताएका छन् ।

कानूनमा भएको व्यवस्थाको खिल्ली उडाउँदै जनप्रतिनिधि

मुलुक अपराध संहिता २०७४ को दफा २२५ मा बलात्कारको घटना मिलापत्र गराए मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ । तर गुल्मीमा निर्लज्जसंग बलात्कारको घटना मिलापत्र गराउन स्थानीय जनप्रनिधि नै लागेपछि कानूनको उपहास भएको सर्वत्र महसुस गर्न थालिएको छ ।

मुद्दाको फाइल बन्द भएको छैन : प्रहरी

यता प्रहरीले भने बलात्कारको मुद्दाको फाइल बन्द नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले उक्त बलात्कार मुद्धा चलिनै रहेको बताए । तर आरोपी नाबालक भएका कारण तारेखमा अभिभावकको जिम्मा लगाएर बताए ।

पीडित बालिका गरीव परिवारकी हुन् । उनीहरुको उक्त कमजोरीका फाईदा उठाउँदै बलात्कार घटनालाई गाउँमै मिलाउन र अनेक प्रकारका धम्की दिन थाले पछि पीडित परिवार थप तनावमा परेको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV