२२ भाद्र २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एक वडाध्यक्षसहित ७ जना जनप्रतिनिधि एमाले परित्याग गरि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–७ का वडाअध्यक्ष नविन इजमसहित ७ जना जनप्रतिनिधिले आज दिउँसो निर्वाचन कार्यालय झापामा पुगी सनाखत गरेको समाजवादी प्रेस संगठनका नेता तीर्थ सिग्देलले जानकारी दिए ।

समाजवादी रोजेर सनाखत गर्नेहरुमा वडा अध्यक्ष इजम, जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन थिङ, अर्जुनधारा नगरपालिका–३ का वडासदस्य होम दुलाल, अर्जुनधारा वडा नम्बर ६ का वडासदस्य अर्जुन मेचे, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, र भद्रपुर नगरपालिका–९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।

झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ, भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।

उनीहरू पाँचै जनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।

त्यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य गरेर जम्मा ४९३ जनाले जितेका थिए ।

उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न वडा अध्यक्ष सहित ७ जना जनप्रतिनिधि मात्रै एमाले परित्याग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV