२२ भाद्र २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । पर्साको पकहामैनपुर गाउँपालिकाले ४ वर्षको अवधिमा ७० प्रतिशत विकास निर्माणको कार्य सम्पन्न गरेको छ । स्थानीय सरकार निर्वाचित भएयता पकहामैनपुर गाउँपालिकाका प्रमुख विजय कुमार चौरसियाले भौतिक पूर्वाकार विकासको साथसाथै स्वास्थ्य एवं शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माण कार्यलाई अगाडि बढाएका थिए ।

जुन चार वर्षको अवधिमा यस क्षेत्रमा विभिन्न विद्यालय निर्माण गर्नुका साथै पालिका अन्तर्गतका ७० प्रतिशत सडकहरुलाई ढलान गरिसकेका छन्, भने उक्त पालिका अन्तर्गत रहेका ५ वटा वडाहरुको विद्यालयहरुलाई स्तरोन्नति तथा भवन निर्माण कार्यलाई तीब्रता दिएका छन् ।

गाउँपालिकाको ५ वटै वडाका टोलहरुमा अहिले सडक ढलानको कार्य सम्पन्न भइसकेको छ, भने बाँकी ३० प्रतिशत सडक ढलान कार्य यस वर्ष सम्पन्न गर्ने गाउँपालिको लक्ष्य रहेको छ ।

त्यसैगरि गरिब विपन्न परिवारको लागि गाँस, बाँसको व्यवस्थाको साथसाथै चापाकल वितरण समेत गरिएको छ भने गरिब परिवारहरुलाई ग्याँस सिलिण्डर वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ३ पकहामैनपुर अन्तर्गत रहेको श्री रामचन्द्र भगत माध्यमिक विद्यालयको भवन निर्माणको साथसाथै छात्राहरुलाई सरकारी विद्यालयप्रति आकर्षित गर्नका लागि साइकल वितरणलगायतका विभिन्न कार्यक्रमहरुलाई सञ्चालन गरेका छन् ।

यसैगरि पालिकाको वडा नं. ५ सबैठवा अन्तर्गत रहेका श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फजतवामा भवन अभाव रहेकोलाई मध्यनजर गर्दै पालिकाले उक्त स्कुलमा दुईवटा भवन निर्माण कार्यलाई अगाडि बढाएका छन्, जुन ७० प्रतिशत भन्दा बढि निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यसरी नै पालिकाको अन्य वडाहरुमा रहेका प्राथमिक तथा निम्न माध्यमिक विद्यालहरुको भवन निर्माणको साथसाथै शिक्षा स्तरलाई गुणस्तरीय बनानको लागि दक्ष जनशक्तिको व्यवस्थापन समेत गरिएको छ ।

त्यसैगरि गाउँपालिकाले यस क्षेत्रका नागरिकहरु बढी कृषि पेशामा आबद्ध रहेका कारण कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर विकास निर्माणको कार्यलाई अगाडि बढाएको छ । जिल्लाको पश्चिम दक्षिणी नेपाल भारत सीमा क्षेत्रमा पर्ने यस पालिकाले विगत लामो समयदेखि बाढीको समस्या खेप्दै आएकोले त्यसलाई पनि न्यूनीकरणका लागि पालिका लागि परेको छ ।

त्यस्तै कृषकहरुलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि विभिन्न किसिमका सहुलियतहरु पनि ल्याएको छ । स्थानीय जनप्रतिनिधि निर्वाचित भएको चार वर्षको अवधिमा स्थानीय सरकारको ऐन, कानून बुझ्दै विभिन्न बाधा अवरोधहरुको बाबजुद्ध पालिकाले ६० देखि ७० प्रतिशत विकास निर्माणको कार्यहरु गरेको छ ।

त्यस्तै आगामी एक वर्षको अवधिमा बाँकी योजना तथा विकास निर्माणको कार्यहरुलाई सम्पन्न गरिने गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाको दाबी छ । अर्कोतर्फ यस आर्थिक वर्ष २०७८÷७९ मा अझै विकास देखिने गरि योजनाहरु पास गरिएको छ भने गरिब, निमुखा परिवारहरुको लागि विशेष योजनाहरु ल्याइएको छ, जुन चाँडो भन्दा चाँडो सञ्चालन गरिने अध्यक्ष चौरसियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV