२२ भाद्र २०७८, मंगलवार

संखुवासभा । यहाँको मादी नगरपालिकामा भएको एकै परिवारका ६ जनाको हत्या घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार नै घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान सुरु गरेको हो । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घटनास्थल पुगेको थियो । राति पानी समेत परेका कारण अनुसन्धान बिहानबाट मात्र सुरु भएको हो ।

टोलीले तालिमप्राप्त २ वटा कुकुर समेत लाएर घटनास्थलको अनुसन्धान सुरु गरेको हो । घटनास्थल सोमबार नै सिल गरिएको थियो भने कुकुरमार्फत हत्याको अनुसन्धान सहज बनाउनका लागि मारिएकाहरुको शव रातभर घटनास्थलमा नै छाडिएको थियो । तर राति परेपछि कुकुरको प्रभावकारिता कम देखिने बताइएको छ ।

साेमबार बिहान बौद्धमान कार्कीको परिवारका ६ जना मृत भेटिएका थिए । उनीहरूकाे हत्या गरिएकाे प्रस्ट भए पनि कसले किन गरेकाे भन्ने अनुसन्धानबाट मात्रै खुल्नेछ । हत्या भएकाहरुमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV