२१ भाद्र २०७८, सोमबार

विराटनगर । वैदेशिक रोजगारी अझै पनि धेरैका लागि ठगी धन्दाको गतिलो माध्यम नै बनेको छ । सोझा साझाहरुलाई मात्र नभइ पढेलेखेकाहरु पनि झुक्किने र ठगिने गरिदै आएको यो क्षेत्र यस्तै ठगी खानेहरुका कारण बदनाम पनि बन्दै गएको छ । हरेक बर्ष ठगीका सयौं मुद्दाहरु दर्ता हुँदै आएपनि ठगिने क्रम रोकिने कुनै संकेत नदेखिनु भने यो क्षेत्रका लागि भने उदेकको विषय बनेको छ । यस क्षेत्रमा ठगिनु संघीय राजधानी काठमाडौं नै आइपुग्नु पर्दैन । देशको हरेक क्षेत्रमा यो क्रम बढ्दो छ ।

कुवेत, क्यानडा र नर्वे उडाइदिने प्रलोभन देखाएर पूर्वको सुनसरी र मध्य तराई सिरहाका सयौ युवाहरुलाई ठगेर विराटनगरका एक व्यक्ति फरार भएका छन् । नर्वे र क्यानडा उड्ने सपना पालेर जनही १५ हजारदेखि ८ लाखसम्म उठाएका यादवलाई बुझाउनेहरुको यतिखेर विचल्ली भएका छ । आइतबार ठगिएकाहरुले यादवको विराटनगरस्थित घरमा रेकी पनि मारे । तर फरार यादव नभेटिएपछि भोलि सोमबार कानूनी प्रक्रिया अघि बढाउने भन्दै पीडितहरु घर फर्कन बाध्य भएका छन् ।

पीडितहरुले ठगी गर्नेको घरमा नै घेरा हाले

विराटनगर १२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पैसा लिएर फरार भएपछि न्यायको लागि सुनसरीको इनरुवा लौकहीबाट पीडितहरु विराटनगर आएका छन् ।

इनरुवाबाट ४५ जना पीडितहरु यादवको घर पुगेका थिए । तर यादव फरार भएका कारण भेट हुन सकेन । यादवले नर्वे पठाइदिने भनेर जनही १६ हजारको दरले मेडिकल गर्ने भनेर पैसा उठाएको पीडितहरुको आरोप छ ।

प्रतिव्यक्ति १५ हजारदेखि ८ लाखसम्म ठगी

एक हप्ता अगाडि मात्र यादवले रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरु यादवको घर आएका थिए । यादवले मिर्चैयाका १९२ जनालाई कुवेत, नर्वे र क्यानाडा लैजाने भनेर १५ हजार देखि ८ लाखसम्म पैसा उठाएको पीडितहरुले गुनासो गरेका छन् । यादव दुई महिना देखि फरार रहेको पीडितहरुको गुनासो छ ।

यादवले मिर्चैयामा पनि भूमिग्रुप नामको कार्यालय खोलेर सर्वसाधारणबाट ठगी गर्दै आएका थिए । ठगिएको महिनौ भइसक्दा पनि पीडितहरुले प्रहरी र प्रशासनमा भने उजुरी गरेका छैनन् । तर भोलि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिने तयारी पीडितहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV