२१ भाद्र २०७८, सोमबार

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक, विद्यार्थी र कर्मचारीले चलाएको शुद्धीकरण अभियानले ८३ दिन बिताए पनि प्रतिष्ठानमा कुनै सुधार हुन सकेको छैन । भएका सम्झौता र सहमति पनि कार्यान्वयन हुन नसकेपछि प्रतिष्ठानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आज आइतबारदेखि सेवा बहिष्कार गरेका छन् ।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका हुन् ।

आन्दोलनको कारण प्रतिष्ठानको ओपिडी सेवा ठप्प भएको छ । प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले शुद्धीकरण आन्दोलन जारी राखेको छ । अनियमितता, बेथिति बढेको भन्दै उनीहरुले पदाधिकारीहरुको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ भने आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आइतबार १ महिना पूरा भएको छ । तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औँल्याएका पदाधिकारीहरुलाई कारबाही गर्न चासो देखाएको छैन ।

सरकारले छानबिन मात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएको कारण आन्दोलनलाई थप कडा बनाउनुपरेको संघर्ष समितिले जनाएको छ । दक्षिण एसियाकै अग्रणी स्वास्थ्य संस्था मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बढ्दो राजनीतिक हस्तक्षेप, गलत प्रवृति भएको व्यक्तिको हातमा नेतृत्व पुग्नु र भ्रष्टाचारले धराशायी बन्ने अवस्थामा पुगेको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै एक विज्ञप्ती जारी गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेकोले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV