२० भाद्र २०७८, आईतवार

जनकपुरधाम । प्रदेश नम्बर २ मा थप दुई प्रदेश सांसद नेकपा एमाले छाडेर माधवन नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) मा भित्रिएका छन् ।

२२ भदौसम्म दल परिवर्तन गर्ने समय बाँकी रहँदा एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।

यसअघि बिहीबार एमालेका ११ जना सांसदहरु नेकपा (एस) मा आएका थिए । त्यतिबेला यी दुई सांसद पनि नेकपा (एस) मा आउने भनिए पनि उनीहरु छुटेका थिए ।

आइतबार उनीहरु नेकपा (एस) लाई रोजेसँगै १३ जनाले एमाले छाडेका छन् । प्रदेश २ मा एमालेबाट २१ सांसद रहेका थिए भने अब एमालेमा ८ जना मात्र सांसद रहेका छन् ।

यसअघि शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ नेकपा (एस) लाई रोजिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV