२० भाद्र २०७८, आईतवार

भक्तपुर । भक्तपुर जिल्लाका बिभिन्न ५ टोलमा रहेका दिपँकर बुद्धहरुलाई पूजा तथा दान दिएर पञ्जरां (पञ्चदान) पर्व मनाइँदै छ । कोभिडका कारण गत वैशाखदेखि जारी निषेधाज्ञा भर्खरै खोलिए तापनि यो वर्षको पञ्जारां पर्व भने सामान्य रुपमै मनाइएको छ ।

भक्तपुर बौद्ध संघले निषेधाज्ञा भैरहेको अवस्थामा हप्तादिन अघि नै पर्वलाई यो वर्ष पनि सामान्य रुपमा मनाउने निर्णय गरेको थियो । तर पर्वको दुई दिन अगाडि सरकारले निषेधाज्ञा खोलेको भए तापनि पर्व चलाउन छोटो समयमा विभिन्न आन्तरिक व्यवस्थापन गर्न नसकिने भएकाले  सामान्य रुपमा नै मनाएको ईन्द्रव्रत महाविहार संरक्षण समिति ईनाचोका अध्यक्ष बसन्तराज शाक्यले बताउनुभयो ।

बिगतका वर्षहरुमा पञ्चरां पर्व मनाउँदा विभिन्न टोलहरुमा दिपंकर बुद्धलाई घुमाई भिक्षा दान लिनजाने चलन थियाे । यो वर्ष भने गत वर्षझैँ दिपंकर बुद्धहरुलाई विहारबाट बाहिर ननिकालेका कारण भक्तजनहरु विहारमै गएर पूजा गरी भिक्षा दान दिने गरेका छन् ।

यस पर्वका दिन भक्तपुरमा पाँच वटा दिपँकर बुद्धहरुलाई विहारबाट निकाली टोल-टोलमा घुमाई पूजा तथा दान लिने गरिन्छ । बौद्ध धर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ । यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य बज्राचार्यहरुलाई स-सम्मान स्वागत-सत्कार गरी दान आदान-प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV