१९ भाद्र २०७८, शनिबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल निर्विरोध हुने सम्भावना बढेको छ । वर्तमान आईसीसीमा सह–कोषाध्यक्ष रहेका दाहालले आगामी अक्टोवरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुन् ।

उक्त पदमा हालसम्म दाहाल बाहेक कसैले पनि उम्मेद्वारी घोषणा गरेका छैनन् । विगत लामो समयदेखि बेल्जियममा होटल तथा रेष्टुरा ब्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम राष्ट्रिय समन्वय परिषदको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् ।

शालीन व्यक्तित्वका धनि दाहाल भद्र व्यक्तित्व भएका सामाजिक अभियन्ताको रूपमा परिचित छन् । संसारभरका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरूको संस्था ‘भ्लाम्स मेडिकल’मा कार्यकारी सदस्य रहेका दाहालसँग नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ ।

एनआरएन अभियन्ता दाहाल भन्छन्, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा छ । संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु ।’

नेपाल पत्रकार महासंघ यूरोपको अन्तरक्रियामा दाहालले भने, ‘सह–कोषाध्यक्ष भइ काम गर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएका छौं । हामीले संघको आर्थिक हिसाव–किताव व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं । अब काम गर्न गाह्रो पर्दैन ।’

उनले थप भने, ‘यसअघि संघको आर्थिक हिसाब गोलमाल थियो । विभिन्न परियोजनाको व्यवस्थित लेखाजोखा नहुँदा संघलाई २७ करोड घाटा लागेको थियो । जुन घाटा अहिले झण्डै ११ करोडमा झरेको छ । आउँदो अधिवेशनसम्म संघको पुरानो ऋण चुक्ता भएर बचतमा जानेछ ।’

वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा संघको आर्थिक पाटो व्यवस्थित गर्न सह–कोषाध्यक्षको नाताले दाहालले पनि उल्लेख्य योगदान गरेका थिए । संघले अब आपतकालीन क्षेत्रबाहेक अन्य परियोजनामा पहिले नै बजेटको लागत तयार पारेर काम गर्ने परिपाटी बनाएको छ ।

संस्था अब घाटामा नजाने उनको दाबी छ । संघभित्र आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका दाहाल एनआरएनएमा विवादरहित अभियन्ताका रुपमा परिचित छन् । यसर्थ नै अध्यक्षका उम्मेदवारहरूडा बद्री केसी, कुल आचार्य र रबिना थापा तीनै जनाले उनीहरूको प्यानलबाट आफ्नो कोषाध्यक्ष भनेर लोक प्रशाद दाहाललाई स्वीकार गरिसकेका बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV