१९ भाद्र २०७८, शनिबार

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको खैरे खन्न सम्म खने । पार्टीहीन माधव नेपालको पार्टी दर्ता गरे पनि अब आउने निर्वाचन चोर औँलो ठड्याउने ‘माधव नेपाल’ पार्टी भनेर व्यंग्य पनि गरे ।

उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई व्यंग्य गर्दै भने, ‘मावध नेपाल पार्टी (चोर औँला ठड्याउँदै) । माधव नेपाल पार्टी कम्तिमा पनि हुने त्यहीँ हो । फेरि चोर औँला ठड्याउँदै–माधव नेपाल एकीकृत नै रहन्छ ।’

नेपालजस्तो मान्छे दुनियाँमा कहीँ नदेखेको भन्दै ओलीले नेपालको कटाक्ष गरे । ‘दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने । मैले यति साह्रो लाज पचेको मान्छे, माधव नेपालजस्तो कहीँ पनि देखेको थिइन,’ उनले भने, ‘ नेपालमात्र होइन दुनियाँका देशहरु घुमे तर, माधव नेपालजस्तो सरम पचेको मान्छे देखिन । अस्तिसम्म जुन खाटमा बसेका थिए त्यहीँ खाटमा बन्चरो हानेको हानेकै छन् । के भन्ने ?’

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ लाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) के गर्ने भन्दै प्रश्न गरे ।

‘यिनै मान्छेहरु हुन्, कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी बोल्दैन झुक्याएर पास गर्न खोज्या होला । बोल्दैन । के गर्ने हो भन्दैन । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्छन् त भन्नुपर्दैन,’ उनले भने, ‘ शेरबहादुरजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो सँगै बसेर साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी ?’

नेपाली जनतालाई छक्याएर, विकास निर्माणलाई रोकेर कर्मचारीतन्त्रमा अनेक प्रकारका दुःख दिइएको पनि उनले आरोप लगाएका छन् । यति मात्र नभएर धेरैलाई दुःख दिइएको उनले बताए ।

उनले भने, ‘कर्मचारी, जनता, सुकुम्बासी, भुमीहिनलाई दुःख दिइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ अर्ब खर्च भयो अरे । काम ५ प्रतिशतमात्र सकियो अरे । छुट्याएको होला, मलाई याद भएन । अहिले उनीहरुले बजेट रोकेका छन् अनि बजेट रोक्ने काम ५ प्रतिशत मात्र भन्ने ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV