१९ भाद्र २०७८, शनिबार

काठमाडौं । शुक्रबार रातिको पहिरोले पर्वतको सदरमुकाम कुश्मा नजिकैको मोदी खोला आयोजना र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रसारण लाइनको टावर ढालेपछि गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

पहिरोले मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई ढालेपछि निजी क्षेत्रको स्वामित्वमा म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित विद्युत गृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ ।

योसँगै म्यादी, मुस्ताङ, पर्वत र बाग्लुङको विद्युत आपूर्ति बन्द भएको जानकारी गराइएको छ । उक्त टावर ढल्दा पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

त्यस्तै, म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला र ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोलाको जलविद्युत आयोजनाको उत्पादन पनि बन्द भएको छ ।

उक्त टावर मर्मतको काम तत्काल सुरु गर्न तथा विद्युत आपूर्ति नियमित गर्नका लागि वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराको टोली पर्वततर्फ खटाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV