१९ भाद्र २०७८, शनिबार

अहिले चीन विश्वमै शक्तिराष्ट्रको रुपमा उदाइरहेको छ। तर विगतमा चीनमाथि एक सानो राष्ट्र जापानका सैनिकले समेत कब्जा जमाउँदै नरसंहार मच्चाएका थिए। चीन र जापानबीच लामो समय शत्रुता रह्याे र इतिहासमा कहिल्यै सुमधुर सम्बन्ध हुन पाएन।

यस वर्ष चिनियाँ जनयुद्धको ७६ औं वार्षिकोत्सवका अवसरमा चीनमाथि जापानले गरेको नरसंहारको पुनः स्मरण गरिएको छ। सो अवसरमा भनिएको छ कि चिनियाँ जनयुद्धको विजय फासीवादी शक्तिहरुको विरुद्धको जीत थियो।

इतिहासमा चीन र रुस दुबैले जापानको आक्रामकताको सामना गर्नुपरेको थियो । गत शुक्रबार दैनिक पत्रकार सम्मेलनका क्रममा एक प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘यो जीत चीन र रूस दुबैका लागि महत्वपूर्ण थियाे।’ चिनियाँ विदेशमन्त्री वांग यीले एकपटक फेरि केहि मानिसहरु इतिहास भुल्न खोजिरहेको भन्दै तर चीनले यस्तो हुन नदिने बताए।

नानजिंग नरसंहारको सम्झनामा राखिएका हजारौं जोडा जुत्ताहरु

चीन-जापान दुश्मनीको कथा

जबजब जापान र चीनबीचको शत्रुतापूर्ण सम्बन्ध र इतिहासको कुरा उठ्छ, तब डिसेम्बर, १९३७ मा चिनियाँ शहर नानजिंगमा शुरू भएको जापानी नरसंहारको याद गरिन्छ। जापानी सैनिकहरुले नानजिंग शहरलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ आम हत्या, बलात्कार र डकैती गरेका थिए। यो नरसंहार १९३७ को डिसेम्बर महिनामा शुरू भएर १९३८ मार्चसम्म चलेको थियो ।

त्यतिखेरका नानजिंग इतिहासकारहरु र नानजिंगमा रहेका च्यारिटी संगठनहरुको अनुमानअनुसार, उक्त नरसंहारमा अढाईदेखि तीन लाख मानिसहरुको मृत्यु भएको थियो। यसरी मारिनेमा अधिकांश महिला र बालबालिका थिए। त्यस क्रममा ठूलो संख्यामा महिलाहरुमाथि बलात्कार भएको थियो।

यद्यपि, धेरैजसो जापानी इतिहासकारहरु भने यति नै संख्यामा नरसंहार भएको भन्ने तथ्य इन्कार गर्छन्। उनीहरु बलात्कार र हत्याको निर्ममतालाई स्वीकार गर्छन् तर यति ठूलो संख्यामा रहेको चाहिँ अस्वीकार गर्दछन्। साथै, उनीहरु यो सबै युद्धको समयमा भएको भन्ने गर्छन् ।

द्विदेशीय युद्ध

सन् १९३१ मा जापानले चीनको मञ्चुरिया भन्ने नगरमा आक्रमण गर्यो। जापानले पहिलो आक्रमण तब गर्यो, जब जापानद्वारा नियन्त्रित रेलवे लाइननजिक एक विस्फोट भएको थियो । यस समयमा चिनियाँ सैनिकहरुले जापानी सैनिकहरुसँग मुकाबिला गर्न पाएनन् या सकेनन् र जापानले धेरै चिनियाँ क्षेत्रहरुलाई आफ्नो कब्जामा लियो।

जापानले चीनमा आफ्नो पकड बलियो बनाउँदै लग्यो। यसै सयममा चीन कम्युनिस्टहरु र राष्ट्रवादीहरुको गृहयुद्धमा फसेको थियो। चीनका राष्ट्रवादी नेता चियांग काई–शेकले नानजिंग शहरलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए।

कैयौँ जापानीहरुलाई के लाग्छ भने चीनमा जापानी सैनिकको अत्याचार त्यहाँका पाठ्यपुस्तकहरुमा अतिरंजित गरेर बढाइचढाइ गरिएको छ। यद्यपि यस ऐतिहासिक तथ्यलाई मान्नैपर्छ कि १९३१ मा जापानले चीनको मञ्चुरियामा ठूलो आक्रामकताका साथ कब्जा जमाएको थियो।

यसको परिणामस्वरूप चीन र जापानबी १९३७ मा एक भीषण युद्धको शुरुवात भयो । त्यो युद्ध तबसम्म चल्यो, जब १९४५ मा लाखौं चिनियाँहरुको मृत्युपश्चात् दोस्रो विश्वयुद्धको अन्त्यसँगै यो युद्ध पनि समाप्त भयो।

दोस्रो विश्वयुद्धको युद्धभूमि थियो, पूर्वी एसिया । दोस्रो विश्वयुद्धले यस क्षेत्रको केन्द्रमा राष्ट्रिय गौरव ल्याउन ठूलो भूमिका खेलेको छ। चीन आजको मितिसम्म एक लामो बाटो हिँडेर विश्व आर्थिक र सैन्य शक्तिमा अगाडि आइपुगेको छ। तर यसको अतीतले पनि यो सफलताको यात्रामा एक महत्वपूर्ण भूमिका खेलेको छ।

पाठ्यपुस्तकहरुमा अपमानको इतिहास

चीनले आफ्नो अपमानजनक ईतिहासलाई त्यहाँ पाठ्यपुस्तकको एक हिस्सा बनायो र आउँदो पुस्तालाई बतायो कि उनीहरुको देशले कति अपमान सहनुपरेको छ।

चीन आफ्ना नागरिकहरुलाई हमेशा याद दिलाइरहन चाहन्छ कि १९३८ को पहिलो अफीम युद्धदेखि लिएर दोस्रो विश्वयुद्धसम्म चिनियाँहरुले कसरी जुलुम सहनु परेको थियो। कसरी जापान र पश्चिमा उपनिवेशवादीहरुले चिनियाँहरुलाई अपमानित गरेका थिए भन्ने कुरा चिनियाँ नागरिकहरुलाई बिर्सन अनुमति छैन।

चीनले नानजिंंगमा जापानीद्वारा मारिएकाहरुको सम्झनामा सन् २०१४ मा हरेक वर्ष डिसेम्बर १३ का दिन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। साथै उसले नानजिंग नरसंहारका लागि जापानले माफी माग्नुपर्ने माग समेत अगाडि सारेको थियो।

तत्कालीन जापानी प्रधानमन्त्री शिन्जो आबेलाई नानजिंगमा बनाइएको मेमोरियल भवनमा आएर माफी माग्नुपर्ने चीनले बताएको थियो।

जब युनेस्कोले नानजिंग नरसंहारसम्बन्धी दस्तावेजलाई एक विश्व कीर्तिमानको रूपमा सुरक्षित गर्ने निर्णय गर्यो, तब जापानले यस निर्णयको कडा विरोध गर्यो । उसले युनेस्कोलाई दिँदै आउको आर्थिक सहयोग समेत बन्द गर्यो।

कम्युनिष्टको विजय र कटुता

प्यू रिसर्चका अनुसार जापान र चीनका नागरिकहरुमै समेत कटुता धेरै छ। उक्त अध्ययनका अनुसार ११ प्रतिशत जापानीहरुले मात्रै चीनको बारेमा सकारात्मक धारणा राख्ने गरेको पाइयो । उता चीनमा पनि १४ प्रतिशत चिनियाँहरुले मात्रै जापानको बारेमा सही धारणा राखेको पाइयो।

भनिन्छ, सन् १९४९ देखि १९७६ को बीच माओ–युगका दौरान नानजिंग नरसंहारको कडा उपेक्षा गरिएको थियो। यसको एउटा कारण यो पनि थियो कि नरसंहारका बेला चीनमा कम्युनिस्टहरु र राष्ट्रवादीहरुबीच गृहयुद्ध समेत उत्कर्षमा थियो। राष्ट्रवादीहरूले नानजिंगलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए । १९३० को दशकमा ज्यादै थोरै मात्र कम्युनिस्टहरू यस शहरमा बस्थे, बाँकी राष्ट्रवादी शक्तिहरुको बोलवाला थियो।

चीनमा राष्ट्रवादीहरुको पराजय भएर सन् १९४९ मा राष्ट्रिय एकीकरण सुरु भयो । तब कम्युनिस्टहरुले यो दाबी गरे कि उनीहरुले गृहयुद्ध मात्र जितेका थिएनन्, जापानीहरुसँग युद्ध पनि जितेका थिए। त्यसपछि नै हो जापानीविरुद्ध उपेक्षा र घृणाको शृंखला समेत बढाइयो।

माओको मृत्युको ६ वर्षपछि धेरैथोक छिटोछिटो परिवर्तन भए। जुलाई १९८२ मा जापानका शिक्षा मन्त्रीले एउटा पाठ्यपुस्तक प्रकाशित गरे, जसले दोस्रो विश्वयुद्धमा जापानको भूमिकालाई छिपाइएको थियो।

यसबेला चीनले महसुस गर्यो कि यदि जापानले आफ्नो गलत भुमिका बिर्सन्छ भने यसलाई चीनले कदापि बिर्सन दिने छैन। तब चीनले यस नरसंहारसँग सम्बन्धित एक संग्रहालय खोलेको थियो, यो कुरा जापानी पाठ्यपुस्तक छापिएको केहीहप्तापछि मात्र भयो। जबकि १९८२ भन्दा अगाडि चीनमा नानजिंग नरसंहारसम्बन्धी कुनै दस्तावेज प्रकाशित भएको थिएन।

नागरिक स्तरमै कटुतापूर्ण सम्बन्ध

चीन र जापान अहिले विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन्। तर यी दुई देशबीचको सम्बन्ध अहिले पनि उति सुमधुर नरहेको बताइन्छ। यी दुवै देशबीचको समस्या केवल कूटनीतिक स्तरमा मात्र छैन, नागरिक स्तरमै पनि छ।

दुई देशबीच दुई साना टापुहरुमा पहिलेदेखि नै विवाद थियो। एउटा टापु सेन्काकु हो, जो जापान मा छ र अर्को टापु डियायो हो, जो चीनमा छ। दुबै देशले यहाँ आ–आफ्ना नौसेना (जलसेना) को गस्ती बढाएका थिए।

जब यदि त्यहाँ दुई देशहरुबीच कुनै विवाद हुन्छ, तब इतिहासमा गाडिएका लाशहरु समेत उखाल्ने गरिन्छ। अर्कोतर्फ, जब दुई देशबीच सम्बन्ध सुधारका प्रयासहरु हुन थाल्छन्, तब पनि अतीतको सम्झना गर्ने गरिन्छ। यसले नागरिकस्तरमै दुई देशबीचको सम्बन्ध सुधार हुन दिँदैन।

‘१५०० वर्षकाे इतिहासमा कुनै सम्बन्ध राम्रो भएन’

सन् २००६ मा जापानका उपप्रधानमन्त्रीको रुपमा तारो आसोले भारत भ्रमण गरेका थिए। त्यसबेला उनले एक वक्तव्यमा भनेका थिए, ‘विगत १५०० भन्दा बढी वर्षको लामो इतिहासमा चीनसँग हाम्रो कुनै सम्बन्ध राम्रो भएको कुनै घटना छैन।’

१९७२ मा तत्कालीन जापानी प्रधानमन्त्री काकुई तनाकाले चीनको भ्रमण गरे। यस भ्रमणका क्रममा उनले चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए। जुन जापानले १९३० देखि ४० को दशकसम्म चीनमाथि बर्बरतापूर्वक सैन्य आक्रमण गरेको थियो, उही जापानका प्रधानमन्त्रीलाई चिनियाँ नायक माओले ठूलै अतिथि सत्कार दिएका थिए।

त्यस क्रममा जब माओलाई जापानी प्रधानमन्त्री काकुईबाट माफी माग्नेबारे मा सोधियो, तब उनले भने कि यो आवश्यक नै छैन। माओले त्यसबेला भनेका थिए, ‘जापानी आक्रमणबिना चीनमा कम्युनिस्ट क्रान्ति सम्भव थिएन।’

दुश्मनी : चीन-भारत र जापान-उत्तर काेरिया

आज पनि चीनमा कम्युनिस्ट पार्टीको शासन छ र सी जिनपिंगलाई माओकै समान दर्जा दिइएको छ। माओले जापानले विगतमा गरेको हमला बिर्सन प्रयास गरेका थिए, तर सी जिनपिंगले भने यसलाई द्धन् ताजा बनाइदिए ।

चीन र जापानबी पूर्वी चीन सागरको सम्बन्धमा तनाव कायम रहेको अहिले पनि सर्वविदितै छ। दक्षिण चीन सागरको विवादमा जापान ताइवान, संयुक्त राज्य अमेरिका र मलेशियाको पक्षमा रहेको छ। तर चीनले उक्त सागरमाथि आफ्नो अधिकार दाबी गरिरहन्छ।

भारतसँग जापानको बढ्दो सम्बन्धलाई लिएर समेत चीन चिन्तित छ। जापानको सहयोगमा भारतले चीनसँगको सीमा क्षेत्रमा पूर्वाधारहरु विकास गरिरहेको छ। अर्कोतर्फ, उत्तर कोरिया जापानको लागि खतरा बनेको छ, जसलाई चीनको साथ रहेको बताइन्छ। उत्तर कोरिया र चीनबीच राम्रो सम्बन्ध रहेको कसैबाट छिपेको छैन।

जसरी चीन र जापानबीच शत्रुताले भरिपूर्ण इतिहास छ, त्यसरी नै भारत र चीनबीच पनि छ । भारत र चीनको सम्बन्ध पनि उति राम्रो हुन सकेको छैन। यस्तो स्थितिमा भारत र जापानको मित्रता गुह्य बुझ्न धेरै गाह्रो छैन।

(बिबिसी हिन्दीबाट न्यूज २४ नेपालका लागि अनुदित)

प्रतिक्रिया दिनुहोस्

LIVE TV