१९ भाद्र २०७८, शनिबार

एजेन्सी । आफगानिस्तानको सबैभन्दा बढी तालिबानविरोधी गढ मानिएको पन्जशिर उपत्यकामा भीषण लडाइँ भइरहेको छ । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको उक्त उपत्यकामा प्रतिरोधी फौजहरूविरूद्ध उपलब्धि हासिल गरिरहेको बताएका छन् । तर प्रतिरोधी फौजका नेताहरूले भने तालिबानको दाबीलाई अस्वीकार गर्दै उक्त उपत्यकामा कडा प्रतिरोध भइरहेको बताएका छन्।

अफगानिस्तानका पूर्व–रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले उक्त उपत्याका भइरहेको भीषण लडाइँमा पछिल्लो समय इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन्।

उता, तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिएअनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन्। तर यो दाबीलाई प्रतिरोधी फौजले मान्न तयार छैन । लडाइँमा सामेल प्रतिरोधी फौजका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताएका छन्।

बीबीसीका अनुसार एक भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्। उनले भनेका छन्, ‘अहिले हामी अप्ठेरो परिस्थितिमा छौँ, हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ र अफगानिस्तानको पक्षमा दृढ भएर उभिएका छौँ।’

हालै अफगानिस्तानको सत्ता हातमा लिएको तालिबानलाई अन्तर्राष्ट्रिय समुदायले उत िमान्यता दिइरहेका छैनन् । अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रबार युरोपेली सङ्घ र ब्रिटेनले समेत तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने बताएका छन् । तर उनीहरुले सञ्चारको ढोका भने खुल्लै राख्ने जनाएका छन्।

अहिले पूरै अफगानिस्तान तालिबानको हातमा गइसक्दा र अमेरिकी सेना समेत बाहिरिसक्दा पनि तालिबानविरुद्ध एक्लै उभिएको अफगानिस्तानको एक मात्र प्रान्त हो, पन्जशिर । त्यहाँ भइरहेको लडाइँमा अहिले सयौँले ज्यान गुमाएका विवरण आएका छन्। र, हजारौँले लडाइँमा भाग लिएका छन् ।

राजधानी शहर काबुलको उत्तरमा रहेको यो सानो उपत्यका अफगानिस्तानको सबैभन्दा सानोमध्येको एक प्रान्त हो। पहाडहरूले छेकिएको यो उपत्यका परम्परागत रूपमा नै तालिबान विरोधी गढ मानिन्छ। अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्ने भएकाले यो सुरक्षित पनि मानिन्छ। हाल त्यहाँ करिब डेढ लाखदेखि दुई लाख मानिसको बसोबास रहेको बताइन्छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV