१८ भाद्र २०७८, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । वीरगञ्ज रानीघाटस्थित मानव सेवा आश्रमले गत जेठ २२ गते बारा जिल्लाको मोतिसरबाट एकजना मनोरोगीलाई उद्दार गरेको थियो । खपडाले छाएको गाईबस्तु बाँध्ने गोठ जस्तै देखिने छाप्रोभित्रको खम्बामा एक जना पुरुष, नाङ्गो शरीरमा फलामे साङ्लोले बाँधेर राखिएको अवस्थामा मानव सेवा सेवा आश्रम वीरगञ्ज शाखाले उद्दार गरेको थियो ।

मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका व्यक्ति थिए जागेश्वर ठाकुर । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगन्ज शाखाको टोलीले उद्दार गरेर आश्रममा ल्यायो ।

उद्दार गर्नुअघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाई गरि आश्रममै राखेर औषधि उपचार गरि अहिले उनको शारीरिक स्थिति ८० प्रतिशत ठीक भएको छ, भने मानसिक स्थिति ५० प्रतिशत ठीक भएको छ ।

अहिले उनी सबैसँग कुरा गर्ने, बोल्ने, अरुले बोलेको बुझ्ने, आफ्नो विगतको कुराहरु सम्झिने, आफ्नो पारिवारिक स्थितिदेखि आफूले कुन काम गर्दै आएको जस्ता कुराहरुलाई सम्झिन सक्ने भएका छन् ।

आफ्नो परिवारले औषधि उपचार गराएर मानसिक स्थिति ठीक नभएपछि दिक्क भई साङ्गलोमा बाँधेर राखेका ठाकुर अहिले आफूले गर्दै आएको फर्निचरको काम गर्नसक्ने भएका छन् । उद्दार गर्दाको बखत आफ्नो खुट्टामा उभ्न नसक्ने ठाकुर अहिले आश्रममा छमछमी नाच्ने गरेका छन् ।

कुरा गर्दा गर्दै अन्य कुराहरु बोल्न थाल्छन्, तर उनलाई उनको अतित अर्थात् पुराना यादहरु उनको मस्तिक्षमा छदैछ । १२ वर्षअघिसम्म ठाकुर नाम चलेका काठको मिस्त्री थिए । काठको काममा उनको सीपको चर्चा गाउँभरि थियो । उनको कलाकारिता देखेर गाउँका मानिस अचम्ममा पर्थे ।

तर अचेल मानसिक सन्तुलन ठीक नभएको व्यवहार देखाउन थालेपछि उनी सानो गोठ जस्तै घरमा बाँधेर जीवन विताउन बाध्य भएका थिए । उनको मानसिक स्थिति विग्रिन थालेपछि परिवारका सदस्यहरुले उनलाई उपचार गराए तर सफल भएन् ।

ठाकुर विरामी भएपछि काठमाडौं, भरतपुरलगायत भारतको गोरखपुर जस्ता सहरको अस्पतालमा उपचार गराउँदा पनि निको हुन सकेन । ठाकुर बिरामी परेपछि परिवारले निकै दुःख पाएको थियो । सात कठ्ठा जमिन र गरगहना बेचेर उपचार गराउँदा समेत निको नभएपछि उनलाई साङ्लोमा बाँधेर राख्न परिवार बाध्य भयो ।

उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै हैन, एक्लै पनि कराइरहन्थे । उनी राति पनि नसुती गाली गर्ने, कराउने र गीत गाउने जस्ता कार्य गर्दै आएका थिए । ठाकुरको मानसिक स्वास्थ्य अवस्था बिग्रन थालेको झण्डै १२ वर्ष बित्यो, यति दिनसम्म ठीक हुन नसकेपछि उनलाई साङ्लोमा बाँधेर राखियो ।

साँङ्लोमा बाँधेर राखेको ४ वर्ष पश्चात मानव सेवा आश्रमले त्यो सूचना पायो र उनलाई उद्दार गर्यो । उनलाई उद्दार गरेको ३ महिना पनि वित्न पाएको छैन, उनको स्वास्थ्यदेखि मानसिक स्थितिमा धेरै सुधार भएको छ ।

भनिन्छ मानिसको जीवनमा ‘माया’ धेरै महत्वपूर्ण हुन्छ, जुन ठाकुर नपाएरै उनको यो मानसिक सन्तुलन विग्रेको थियो । आश्रममा उनले पाएको माया र सहानुभूतिले उनको जीवनमा सुधार आएको मानव सेवा आश्रम वीरगन्जकी संयोजक सानु गुरुङ्ग मानव सेवाले बताइन् ।

उनका अनुसार ठाकुर एउटा उदाहारणका पात्र मात्रै हुन्, उनी जस्ता अन्य पनि मनोरोगी बुवाआमाहरु छन्, जुन सोच्नै नसक्ने छिटो समयमा ठीक भएका छन् ।

सोही सन्दर्भमा बोल्दै गुरुङ्गले वीरगन्ज महानगरपालिका वडा नंं. १७ अलौंका हृदयनारायण साहको जीवनमा आएको सुधारले मान्छेको जीवनमा ‘माया, प्रेम’ ले जे पनि सम्भव हुने बताइन् ।

विगत १५ वर्षदेखि मानसिक सन्तुलन विग्रेर परिवारले हात खुट्टामा फ्लामको साङ्गलो बाँधेर राखेका हृदयनारायण साहलाई यही असार २ गते उद्दार गरि आश्रममा ल्याएको अढाई महिनाको अन्तरालमा उनले सबैसँग कुराकानी गर्ने, अरुले बोलेको बुझ्ने, आफ्नो जीवनको पुराना यादहरुलाई सम्झने भएका छन् ।
आश्रमले यसरी मनोरोगी, सडका जीवन यापन गर्ने जस्ताहरुलाई उद्दार गरेर स्यहारसुसार गर्नुको साथै पारिवारिक मिलन समेत गराउँदै आएको छ ।

हाल आश्रममा बालक १ जना, बालिका १ जना, १४ वर्षदेखि ६० वर्ष मुनिका वृद्ध १६ जना, वृद्धा २६ जना, ६० वर्षभन्दा माथिका वृद्ध ९ जना र वृद्धा २ जना गरि ५५ जना आश्रित छन् । आश्रमलाई पनि वीरगन्जका सहयोगी हातहरुको सहयोग पाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV