१८ भाद्र २०७८, शुक्रबार

रौतहट । चुरे बेचेर भारतसंगको बजेट घाटा कम गर्ने घातक निर्णय गर्ने सरकारको गलत कदमलाई सुकुम्वासी भनाउँदाहरुले पनि साथ दिन थालेका छन् । चुरे क्षेत्र आसपास घर बनाएर चुरे अतिक्रमण गर्दैै आएकाहरुको संख्या तीब्ररुपमा बढ्दा बिभिन्न समस्याहरु समेत देखिन थालिएको छ । चुरे संरक्षणमा सरकारले गरेको लगानी बालुवामा पानी हुने सम्भावना बढ्दै जाँदा मधेसको उर्वरताको सुवासमा पनि घात पर्दै गएको छ । तर रौतहट क्षेत्रमा चुरे विनाश तीब्र बन्दा सरोकारवाला निकायले भने आफुहरुको एक्लो प्रयासले चुरे अतिक्रमण रोक्न नसक्ने लाचारी व्यक्त गर्दै आएको छ ।

यसरी मासिदैछ चुरे क्षेत्र

रौतहट जिल्लामा रहेको चुरे क्षेत्र अतिक्रमण बढ्दै गइरहेको छ । आफुलाई सुकुम्बासी भनाउँदाहरुले वर्षौदेखि चुरे क्षेत्र आसपास घरहरु बनाएर बस्दै आइरहेकका छन् । सो क्षेत्रमा सामान्य काठको घर मात्र नभएर पछिल्लो समयमा धमाधम पक्की घर संरचनाहरु पनि बनिरहेका छन् ।

डिभिजन वन कार्यालय रौतहटको तथ्याङ्कमा

  • रौतहटको कुल वन क्षेत्र : २९ हजार ४ सय हेक्टर
  • अतिक्रमणको चपेटामा : ३ हजार १ सय ९० हेक्टर वन क्षेत्र
  • कुल चुरे क्षेत्र : ८ हजार ४ सय २६ हेक्टर
  • अतिक्रमणको चपेटामा : १ हजार ४ सय २५.८ हेक्टर क्षेत्रफल

डिभिजन वन अन्तर्गतको चिसापानी, अरुणबस्ती, इपिलिघारी, महादेवडाँडा, स्वस्तीक डाँडा, साठीविघे, धन्सार, गैंडाटार, भोलनटार, लालभित्ते, जुडिबेला , मोरङ्गे, वरवोट, जरुवावस्ती, नुनथर , रत्यौली, सुत्नेखोलार पौराईको चुरे क्षेत्र सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढि चुरे अतिक्रमण भइरहेको छ ।

वस्तीमात्र बसेन, जंगलको अतिक्रमण पनि बढ्यो

चन्द्रपुरनगरपालिका वडा नम्बर ३ गैंडाटारपारि मोरंगेदेखि भोलनटारसम्मकरिव १३ किलोमिटर चुरे क्षेत्रमा बाक्लो वस्ती बसिसकेको छ । डिभिजन वन कार्यालय रौतहको अनुमानित तथ्याङ्क अनुसार यसरी अतिक्रमण गरेर बसेको वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी , विद्युत, सडक लगायतका विकासमा पूर्वधारहरु विकास भइरहकेका छन् ।

यस पूर्वाधारहरु विकास गर्ने क्रममा डिभिजन वनकार्यालयले असहमति राखेपनि राजनीतिकदलको पहलमा विकासका पूर्वाधारहरु निमार्ण भएका छन् । सुकुम्वासीहरुले चुरे क्षेत्रमा वस्ती मात्र बसालेका छैनन् रुख काटेर खेती पनि गर्ने गरेका छन् । केहीदिन अगाडि मात्र डिभिजन वनकार्यालय रौहतट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा चुरे क्षेत्रमा बन्दै गरेको चार वटा काठका घरहरु भत्काएर काठहरु नियन्त्रणमा लिएको थियो ।

 समूह नै बनाएर चुरे क्षेत्रको विनाशमा

चुरै क्षेत्र अतिक्रमण गर्न केही व्यक्तिहरु समूह नै बनाएर लागि परेका छन् । उनीहरुले चुरेका विभिन्न क्षेत्र घेराबेरा गरेर अतिक्रमण गर्ने र पछि अन्य व्यक्तिलाई त्यो बेचेर अन्तगएर फेरि अतिक्रमण गर्ने गरेको पनि देखिएको छ । यसरी हुकुम्बासीहरुको जालझेलले गर्दा वास्तविक सुकुम्वासीहरु पनि मर्कामा पर्ने गरेका छन् । डिभिजन वन कार्यालयले चुरे क्षेत्रमा नयाँ घर टहराहरु बन्न रोक्न केही प्रयास गरेपनि बनिसकेका घरहरुको हकमा भने के गर्ने भन्ने विषयमा सो कार्यालय आफै अन्यौलमा छ ।

मधेस चाँडै मरुभूमीकरण हुने खतरा

चुरे क्षेत्रमा दिनानुदिन बढिरहेको अतिक्रमणसँगै बढ्दो वनविनाशले चुरे क्षेत्रनै संकटमा पर्न थालेको छ । सो क्षेत्र आसपासबाट हुने अवैध ढुंगा तथा गिटी वालुवा उत्खननपनि चुरेलाई विनास तर्फ लैजादै छ । चुरे विनास हुँदा तराई मधेसको भूमिगत पानीको श्रोत भविष्यमा सुक्दा समग्र मधेस नै मरुभूमिकरण हुने हो कि भन्ने चिन्ता सर्वत्र रहेको छ ।

चुरे संरक्षण गर्ने नाममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा राज्यले हालसम्म अर्बौ रुपैया खर्च गरेपनि उपलब्धि भने शून्य बराबर नै छ । नेपालको पर्यावरण सन्तुलनमा महत्वपूर्ण योगदान गरिरहेको चुरे क्षेत्रको संरक्षण गर्दै सो क्षेत्रलाई अतिक्रमणको चपेटाबाट मुक्त गर्न राज्य निकै गम्भीर भएर लाग्नुपर्ने बेला आइसकेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV