१७ भाद्र २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य अनुसन्धान परिषदले चीनको वालभ्याक्स कम्पनीको कोरोनाविरुद्धको खोप नेपालमा ३० हजार जनसंख्यामा परीक्षण गर्ने जनाएको छ । सरकारले तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न अनुमति दिइसकेको छ । तर, कसैलाई जानकारी नदिई वा जबरजस्ती खोप परीक्षणमा सहभागी गराउन भने पाइदैन ।

नेपालमा पहिलो पटक कोरोना विरुद्धको खोप परीक्षण गरिने तयारी हुँदैछ । हालसम्म दिइएका खोप अन्य मुलुकमा परीक्षण गरेर आपत्तकालीन अनुुमति पाएका हुन् । तर, हालै सरकारले नेपालमा चीनको वालभ्याक्स कम्पनीको एमआरएनए खोपलाई परीक्षण गर्न अनुमति दिएको छ ।

त्यसैका आधारमा स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल परीक्षणका लागि ३० हजार नेपालीलाई छनौट गर्नेछ । यो भ्याक्सिन पनि नेपालमा आपत्तकालिन अनुमति पाएका अन्य भ्याक्सिन जस्तै काम गर्ने विज्ञहरुले बताएका छन् ।

कुनै पनि खोपको ४ चरणहरु हुन्छ, त्यसमध्ये तेस्रो फेजको ट्रायल मानिसको शरीरमा गरिन्छ । यसमा खोप कतिको सुरक्षित छ ? भन्ने हेरिन्छ । मानिसलाई हानी गर्छ कि गर्दैन र खोप कतिको प्रभावकारी छ ? भनेर हेरिन्छ । मानिसको शरीरमा गरिने खोपको परिक्षण नेपालमा सुरु गर्न लागिएको स्वास्थ्य अनुसन्धान परिषदले जानकारी दिएको छ ।

खोप परीक्षणमा सहभागी हुने मानिस स्वतन्त्र हिसाबले जान्छन् । कसैले जबरजस्ती वा थाहा नै नदिइकन खोप परीक्षणमा सहभागी गराउन नमिल्ने सरकारी अधिकारीहरुले बताएका छन् । यो अन्तर्राष्ट्रिय खोप ट्रायल भएकाले यदि खोप परीक्षणको क्रममा कसैको स्वास्थ्यमा समस्या आए अस्पतालमा उपचार गर्ने हेरचाह गर्नेलगायतका व्यवस्था पहिल्यै नै गरिनेछ ।

नेपालले खोप परीक्षण गर्दा त्यसले गर्ने बेफाइदा भन्दा फाइदा बढी रहेको बिज्ञहरुले बताएका छन् । सरकारले नेपालमा खोप उत्पादन गर्ने योजना पनि बनाइरहेको हुँदा खोपको परीक्षणले थप सहयोग पुग्ने बिज्ञको भनाइ छ ।

हाल नेपालमा परीक्षण हुन लागेको खोपको उत्पादक कम्पनीले अहिलेसम्म २० वटा छुट्टा–छुट्टै रोगको खोप उत्पादन गरिसकेको छ । त्यसैले सुरक्षाको हिसाबले बढी ढुक्क हुन सकिने स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV