१७ भाद्र २०७८, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । एक साताअघि अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा घरबार विहीन बनेका कपिलवस्तु नगरपालिका–११ वनगाई सकुम्बासी बस्तीका १३ पिडीत परिवारलाई जस्तापातासहित राहत सामग्री प्रदान गरिएको छ ।

बाढीको भेलले छाप्रोको घर बगाउदा उक्त १३ मध्ये १० परिवार घरबारविहीन बनेका छन् । एक सातादेखि खुला आकाश मूनिमा बस्दै आएका सो परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उपमेयर लक्ष्मी साउ गुप्ताले पीडित परिवारलाई जस्तापाता र खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।

उक्त १० पीडित परिवारलाई घर जग्गाको नापका आधारमा कुल २ सय ६३ वटा जस्तापाता वितरण गरिएको उप मेयर गुप्ताले बताइन् । त्यस्तै १३ परिवारलाई प्रति परिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ । उप मेयर गुप्ताले पीडित परिवारलाई नगरपालिकाले मल्हम लगाउने काम गरेको बताइन ।

‘नगरपालिका पीडित परिवारको साथमा छ’, उनले भनिन् । घर बनाउनका लागि आवश्यक फलामको खाबोलगायतका आवश्यक अन्य सामग्रहरु पनि दिइने उनले बताइन् । वर्षौंदेखि झुपडीमा बस्दै आएको र सो झुपडी पनि बाढीले बगाएपछि पीडित बनेका बावुराम दमाईले नगरपालिकाले आफूहरुलाई साथ दिएको बताए ।

पानीले घरसहित खाद्यान्न, अन्नपातलगायत सबै सामान नोक्सान हुदा आफूहरुको जीवन कष्टकर बेनेको उनले बताए । ‘अब हामी पनि जस्तापाताको घरमा बस्न पाउने भयौं’, उनले भने । जस्तापातासहित राहत पाएपछि पीडित परिवार खुसी भएका छन् । जस्तापातासहित राहत सामग्री नगरपालिकाको ट्याक्टरले पीडित परिवारको घरमै पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV