१६ भाद्र २०७८, बुधबार
  • उत्तर बिष्ट,

डडेल्धुरा । डडेल्धुराको नवदूर्गा गाउँपालिका क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । मूलहरु सुक्नुका साथै खानेपानी आयोजनाहरु संरक्षणको अभावमा जिर्ण बनेपछि बडमका १२ वटा बस्तीमा खानेपानीको हाहाकार भएको हो ।

शुद्ध खानेपानीका नाममा करोडौ खर्च भएपनि राजनीतिक खिचातानीकै कारण घर–घरमा जडान गरिएको धारामा पानी आउँने छाँटकाँट नै छैन । वि.सं. २०५१ सालमा पहिलोपटक खानेपानी योजना लागू भई नवदूर्गा क्षेत्रका केही गाउँमा शुद्ध पानी पु¥याइयो तर त्यो दुई वर्ष पनि टिकेन ।

त्यसपछि वि.सं. २०६९ सालयता बडम गाउँमा आठ वटा धारा बनाइए तर पानी आएन । यो समस्या अझैँ उस्तै छ, बडमगाउँका १२ वटा बस्ति खानेपानीको चरम अभाव खेपिरहेका छन् ।

बडम गाउँवासी वर्षातको समयमा नोला (इनार) को पानी र गर्मीयाममा रडुवा खोलाको पानी प्रयोग गरिहेका छन् तर घरनजिक खोला तथा इनार नहुदा घण्टौं हिड्नु पर्ने तथा पालो कुनुपर्ने बाध्यता छ ।

गत वर्ष संघीय सरकारको समपुरक बजेटमा बृहत् खानेपानी आयोजना बडमका लागि स्थानीय सरकारले १ करोड ९० लाख बजेट छुट्यायो तर खानेपानी धारा बगाल गाउँमा बनाइदा समस्या नटरेको स्थानीयको दुखेसो छ ।

बडम गाउँमा ११ किलोमिटर टाढाबाट विगतमा पनि खानेपानी ल्याइएको थियो तर मर्मत संम्भारको अभाव तथा मूल नजिकका स्थानीयले पाइप काटिदिदा आयोजना नै जीर्ण बन्यो ।

अहिले खण्याखोलाबाट पानी ल्याउने गरी बृहत् खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । अबको एक साताभित्रै निर्माण कार्य सम्पन्न हुने निर्माण व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV