१६ भाद्र २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित नारायणी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट बुधबारदेखि सञ्चालनमा आएको छ । पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त बजेट र वीरगञ्ज महानगरपालिका कार्यालयको सहयोगमा नारायणी अस्पतालमा दैनिक १ सय ४ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

श्रीवास्तवको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत १ करोड ५० लाख र महानगरपालिकाको १२ लाख रुपैयाँ गरि १ करोड ६२ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

जडान गरिएको अक्सिजन प्लान्ट बुधबारदेखि विधिवत रुपमा सञ्चालनमा आएको छ । नव निर्मित अक्सिजन प्लान्टलाई उद्घाटन गर्दै सांसद श्रीवास्तवले वीरगन्जका सम्पूर्ण नागरिकहरु विकासप्रेमी रहेको बताए ।

यहाँका भौतिक संरचनाहरुको विकासमा यहीँकै आम नागरिकदेखि उद्योगी व्यवसायीसम्मको लगानी रहेको भन्दै वीरगन्जको मुटु मानिने घण्टाघर, नारायणी अस्पताल लगायत भौतिक पूर्वाधारहरुको विकासमा यहाँका सम्पूर्ण नागरिकहरुको लगानी रहेको बताए ।

उदाहारणको रुपमा उद्योगी घरानाका विहारीलाल लाठ भन्ने एक व्यक्ति थिए, जसले वीर्ता मन्दिर, बाल मन्दिर जस्ता सामाजिक कार्यमा उनको योगदान रहेको चर्चा गर्दै श्रीवास्तवले यहाँका प्रत्येक विकासमा यहीकै विभिन्न दलका राजनीतिक व्यक्तिदेखि न्यून स्तरका आम नागरिकहरुको योगदान उत्तिकै रहेको बताए ।

यसैगरि कार्यक्रममा सहभागी वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले नेपाल सरकारले यहाँ एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह बाहेक केही बनाउन नसकेको बताउँदै यहाँका अधिकाँश भौतिक पूर्वाधार खास गरेर यहाँका उद्योगी व्यापारीहरुको सहयोगमा निर्माण गरिएको बताए ।

उनले भने, ‘अहिले अक्सिजन प्लान्ट पनि निर्माण गरिएको छ, तर यसको उचित व्यवस्थापन हुन नसकेपछि यसको केही औचित्य रहँदैन ।’ त्यस्तै मेयर सरावगीले यसको व्यवस्थापनमा पनि अस्पताल प्रशासनले तदारुक्ताका साथ लाग्नुपर्ने बताए ।

सांसद श्रीवास्तवले उद्घाटन गरेसँगै विधिवत् रुपमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको नारायणी अस्प्तालका कोभिड संयोजक एवं अस्पतालका बरिष्ठ चिकित्सक डा. उद्यनारायण सिंहले जानकारी दिए । अस्पताले अक्सिजन उत्पादन गर्न थालेपछि विरामीहरुको उपचारमा अक्सिजनको समस्याको न्यूनीकरण भएको बताए ।

कोरोना कहरको बखत अक्सिजन अभावको समस्या झेलेको नारायणी अस्पतालले अबको दिनमा आफै अक्सिजन उत्पादन गर्नसक्ने भएपछि अक्सिजन अभावको कारण कसैले ज्यान गुमाउनुपर्ने समस्याको समाधान भएको बताए ।

कोरोना संक्रमणको बखत अक्सिजन अभावकै कारण कयौंै व्यक्तिले ज्यान गुमाएको सर्वविदितै छ भन्दै कोभिड संयोजक डा. सिंहले त्यस पश्चात नारायणी अस्पतालका शैयाहरुमा अक्सिजन पाइपलाइन जडान गरेर विरामीहरुलाई अक्सिजन दिदै आएको तर, अक्सिजनको सिलिण्डर भने उद्योगबाट ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा अबको त्यो समस्याको पनि अन्त्य भएको बताए ।

कोभिडको बखत दैनिक ३ सयसम्मको सिलिण्डर खपत हुने यही नारायणी अस्प्तालमा अहिले पनि दैनिक १५ देखि २५ वटा सिलिण्डरको खपत हुने गरेको बताए । उनले यस अक्सिजन प्लान्टले अस्पतालाई आवश्यक पर्ने परिमाणको अक्सिजन उत्पादन गर्ने बताए । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि अस्पतालको आर्थिक भार पनि घटेको बताइएको छ ।

दोश्रो लहरका बेला अक्सिजन खरिदमा मात्रै अस्पतालको १ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो, तर अब आफ्नै प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन खरिदमा लाग्ने अस्पतालको रकम बचत हुने बताइएको छ ।

अर्कोतर्फ नारायणी अस्पतालमै विभिन्न दाताहरुको सहयोगमा अक्सिजन पाइपलाइन पनि जडान गरिएको छ । वीरगञ्जस्थित व्यापारीहरुको सहयोगमा ७० लाख रुपैयाँभन्दा बढीको लागतमा अस्पतालका सबै वार्डको शैयामा अक्सिजन पाइपलाइन जडान गरिएको छ ।

प्रथम चरणको कोरोना महामारीको बखत अक्सिजन अभावकै कारण कयौं संक्रमितहरुले ज्यान गुमाएको कारण दोश्रो चरणको कोरोना महामारी अघि नारायणी अस्पतालको सम्पूर्ण वार्डको शैयाहरुमा अक्सिजन पाइप लाइन जडान गरिएको थियो ।

त्रिवेणी गु्रपले २३ लाख रुपैयाँको लागतमा बाल सघन चिकित्सा कक्षमा, क्याल गु्रपले २० लाख रुपैयाँको लागतमा मेडिकल वार्डमा, नेपाल फर्मास्युटिकल्स कम्पनीले १७ लाख रुपैयाँको लागतमा सर्जिकल वार्डमा अक्सिजनको पाइपलाइन जडान गरेको हो ।

यस्तै सूर्य नेपाल प्रा.लि.ले १३ लाख रुपैयाँको सहयोग र अस्पतालको आफ्नै रकमले आकस्मिक कक्ष र एचडीयू वार्डमा पनि पाइपलाइन जडान गरिएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता एवं उद्योगी समाजसेवी स्वर्गीय चिरन्जिवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लाण्ट स्थापना गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता एवं उद्योगी समाजसेवी स्वर्गीय चिरञ्जिवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV