१६ भाद्र २०७८, बुधबार
  • युवराज आचार्य,

झापा । झापाको मेचीनगरमा पाहुना आएका एक पुरूष आफन्तको घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । मेचीनगर–१० लालपानीस्थित ज्ञानु पौडेलको घरमा बुधबार बिहान झुन्डिएको अवस्थामा इलाम मुर्तिडाडाका ४० वर्षीय प्रदिप आचार्यको शव फेला परेको हो ।

बुधबार विहान मेचीनगर वडा नम्बर १० लालपानीस्थित सम्बन्धमा मामा पर्ने ज्ञानु पौडेलको घरको कोठा भित्र झुण्डिएको अवस्थामा भेटेपछि पौडेलका छरछिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले आफ्नो आमालाई ‘५–७ लाख रुपैयाँ हिसाब उठाउनु छ । म झापा गएर पैसा उठाएर विराटनगरमा छोराको भर्ना गराएर फर्कन्छु’, भनेका थिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापासहितको प्रहरी टोलीले घटनास्थलको विवरण लिइ मुचुल्का उठाउने काम गरिरहेको छ । सो पश्चात आजनै शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।

मृतकको परिवारका तर्फबाट किटानी जाहेरी दिने तयारी भइरहेको बुझिएको छ । पीडित परिवारले आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएको छ । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।

आफन्त तथा परिवारका सदस्यहरुले घटनाबारे शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरिरहेका छन् । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

साथै डीएसपी थापाले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटना सम्बन्धमा थप बताउन सकिने बताए । मृतक आचार्यका आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV