१६ भाद्र २०७८, बुधबार

काठमाडौ \ धनकुटा । काठमाडौंका लागि क्रोनिक रोग झै बनेको छ फोहोरको समस्या । सिसडोल भरिदै जाँदा काठमाडौं उपत्यकामा फोहोरको साम्राज्य बढ्दो छ । खुट्टाले टेक्ने ठाउँ नहुँदा नाक थुनेर हिड्नु पर्ने बाध्यता जताततै छ ।

दृढ इच्छाशक्ति, दुरदृष्टि र क्रमभंगताको अभाव र फोहोरबाट मोहर बनाउन सकिन्छ भन्ने सामान्य ज्ञान नभएकाहरु नेतृत्वमा पुग्दा काठमाडौंले घिनलाग्दो र कुरुप पाटोबाट लामो समयदेखि मुक्ति पाउन सकेको छैन । तर भोलिदेखि काठमाडौं उपत्यकामा थुुप्रिएको फोहोर उठाउने भनिएको छ । तर सिसडोलको समस्या समाधान नगरी गरिएको यो निर्णय कतिको प्रभावकारी होला यो प्रश्नले भने निर्णयसंगै ठाउँ पनि बनाएको छ ।

देशको संघीय राजधानीको हालत यो हुँदा मोफसलका धेरै जिल्ला भने फोहोरको सही व्यवस्थापन गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । फोहोरबाट मालामाल हुने एक शहर हो – धनकुटा नगरपालिका । फोहोरलाई मोहर बनाउन जानेको धनकुटाले हरेक बर्ष गतिलो रकम आफ्नो भण्डारमा भर्दै आएको छ ।

फोहोर व्यवस्थापनमा काठमाडौं महानगर निरन्तर चुक्दै

काठमाडौ उपत्यकामा अहिले हरेक दिन १२ सय टन फोहोर उत्पादन हुन्छ । तर सिसडोलमा काठमाडौं उपत्यका ३ जिल्लासहित काभ्रेको बनेपा, धुलिखेलसम्मका गरी १९ वटा नगरपालिकाको दैनिक १४ सय मेट्रिकटन भन्दा बढी फोहोर थुप्रने गरेको छ ।

सिसडोलको सडकको कारण काठमाडौंमा विगत तीन सातादेखि थुप्रएिको फोहोरको उठाउन नसक्दा धेरै बबण्डर नै भए । प्रधानमन्त्रीदेखि लिएर सबै तह र तप्का नै जाग्नु पर्यो । तर फोहोरको व्यवस्थापनमा काठमाडौं महानगर सधै चुक्दै आएको सर्वसाधारणको आरोप छ ।

जताततै विरोध , महानगरलाई वहानवाजी नगर्न सुझाव

सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र सिसडोल पुग्ने गरेका छन् । तर यही सडकको अवस्थालाई देखाएर मात्र महानगरले जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै चौतर्फी चर्को विरोध सुरु भएको छ ।

युथ काँग्रेसलेसडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेको छ । यस्तै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरसफाइ अभियन्ताहरूले रत्नपार्कमा सांकेतिक विरोध् प्रदर्शन नै गरेका छन् ।

बुधबारदेखि फोहोर उठ्ने

चर्को आलोचना र संघीय सरकारको पहल पछि काठमाडौं महानगरपालिकासहित उपत्यकाको बिभिन्न भागमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अगुवाईमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

फोहोरबाट धनकुटाले धन बटुल्दै, बर्षमा २० लाख बढी कमाई

सामान्यतया फोहोर फाल्ने स्थान भनेपछि गहनाउने दुर्गन्ध आउने धेरैको बुझाई छ । तर यस बुझाईलाई पछिपार्दै धनकुटा नगरपालिका फोहोर व्यवस्थापनमा अनुकरणीय उदाहरण नै पेश गरेको छ ।

धनकुटा नगरपालिकाले नगर भित्र उत्पन्न फोहोर व्यवस्थापनलाई व्यवस्थित गरि कुहिने, नकुहिने र ईलेक्ट्रिकल फोहोरलाई बेग्ला बेग्लै छुट्याई बर्षमा करिब २० लाख ४० हजार भन्दा बढी रकम आम्दानी गर्दै आएको छ ।

देशकै सबैभन्दा सफा शहर

फोहोरबाट मोहोर बनाउन जानेको धनकुटाको वाहवाही जताततै सुन्न पाइन्छ । प्रदेश नम्वर एकको पुरानो नगरपालिका धनकुटाले फोहोर व्यवस्थापनमा देशमा नै पहिलो पालिकाकोरुपमा पुरस्कृत समेत भइसकेको छ ।

सबै पालिकाका लागि अनुकरणीय उदाहरण

धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापनमा देखाएको नमुना वास्तवमा देशका हरेक पालिकाको लागि अनुकरणीय रहेको झापाबाट धनकुटा घुम्न पुगेका आन्तरिक पर्यटकहरुको भनाइ छ ।

फोहोर व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले २५ जना कर्मचारी राखेको छ । यस्तै फोहोरको छनौट र वर्गीकरणका लागि १३ जनालाई रोजगारी दिदै आएको छ ।

फोहोरको यही सही व्यवस्थापनले धनकुटा नगरपालिकावासीले आनन्दको श्वास फेर्नुका साथै शुद्ध, सफा एवं हरियाली वातावरणमा रमाउन पाएका छन् ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV