१६ भाद्र २०७८, बुधबार

एजेन्सी । अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताका लागि बधाई दिए ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उनलाई भने, ‘हामीलाई तपाईंको बलिदानमाथि गर्व छ । यो तपाईंका र तपाईंका नेताहरुले जुन मुश्किल सहेका छन्, त्यसैका कारण हुन सकेको छ । यो हाम्रा नेताको इमानदारी र धैर्यको नतिजा हो । आज हामी स्वतन्त्र छौं ।’

उनले भने, ‘म तपाईंहरु र अफगानिस्तानलाई बधाई दिन्छु । हाम्रो देशमा पुनः कुनै हमला नहोस् भन्ने हामी मान्यता राख्छौं । हामी सुख, समृद्धि र साँचो इस्लामी व्यवस्था चाहन्छौं ।’

साथै, उनले तालिबान लडाकूलाई भनेका छन्, ‘अफगानिस्तानका जनतासँग निकै भद्रताका साथ पेश हुनुहोस् ।’

जबिहुल्लाहले भने, ‘म तपाईंहरुबाट यो पनि चाहन्छु कि तपाईंहरु मानिससँग आफ्नो व्यवहारका लागि सावधान हुनुहोस् । यो मुलुकले धेरै सहेको छ । अफगान जनता प्रेम र सहानुभूतिका हकदार हुन् त्यसैले उनीहरुसँग शिष्ट भएर व्यवहार गर्नुहोस् । हामी उनीहरुका सेवक हौं । हामीले आफूलाई उनीहरुमाथि थोपारेका होइनौं । ’

यस्तै विमानस्थलमा तालिबानका अर्का एक ठूला नेता हनस हक्कानीले अफगानिस्तानका मानिसहरु खुसी भएको बताउँदै थुप्रै तत्वले शान्ति नचाहेको र अमेरिकी कब्जा कायम रहोस् भन्ने धेरैको सोच भएको पनि बताए ।

तालिबानसँग रहेको हक्कानी नेटवर्कका नेताले त्यहाँ एक पत्रकारसँग कुराकानी गरेका छन् जसको क्लिप तालिबानको एक मिडिया प्रभारी तारिक गजनीवालाले ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV