१५ भाद्र २०७८, मंगलवार

भक्तपुर । कोरोनाका कारण निषेधाज्ञाको समय स्कुलहरु बन्द भईरहेका बेला अधिकांश शिक्षक शिक्षिकाहरुले घरबाट नै काम गरिरहेका छन् । तर भक्तपुर नगरपालिकाद्धारा संचालित शिशु स्याहार केन्द्रमा कार्यरत शिक्षिकाहरु भने दैनिक शिशुस्याहार पुग्छन् ।

भक्तपुर नगरपालिकाद्धारा संचालित शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका राज्यलक्ष्मी शिल्पकार दिनदिनै शिशुस्याहार जान्छिन् । भक्तपुर नगरपालिका वडा नम्बर ७ मा अवस्थित शिशुस्याहारमा बच्चाहरुलाई पढाउनको लागि नभई आफै तालिम लिनको लागि दिनदिनै पुग्ने गरेको शिल्पकारले सुनाइन् ।

अहिले शिशुस्याहार केन्द्रहरुमा शिक्षिकाहरुलाई बिभिन्न तालिमहरु चलाई रहेको छ । बच्चाहरुलाई खेलखेलमा नै कति कुराहरु सिकाउन सकिने हुनाले यो तालिमले अब आउने बच्चाहरुको लागि सिकाउन सजिलो हुने बताइन् । अहिले तालिममा हामी बच्चाहरु जस्तै गरी खेल्ने, चित्र कोर्न गर्दछौ शिल्पकारले भनिन् ।

त्यस्तै भक्तपुर वडा नम्बर १ मा कार्यरत नजरमाया वाटीका अनुसार भक्तपुर नगरपालिकाले दिएको यस्तोे तालिम प्रयोगात्मक रहेको छ । यो तालिमले शिशुस्याहारमा बच्चाहरुलाई खाना खुवाउने र सुताउने मात्र नभई धेरै कुराहरु सिकाउन सकिने भएको वाटीले सुनाईन ।

अहिले मात्र हामीले करिव एक सय वटा कागजको बिभिन्न समानहरु ब्नाउन सिकेको बताउँदैे बच्चाहरुलाई पछि सिकाउनको लागि हामी आफै बच्चा भएर ११ देखि ५ बजेसम्म तालिममा बस्ने गरेको वाटी बताइन् ।

शिशु स्याहार तथा बालविकास केन्द्र शाखाका प्रमुख दिपेन्द्र प्रजापतिले नगरपालिकाद्वारा संचालित शिशुस्याहारमा कार्यरत १२ जना शिक्षिकाहरुलाई १५ दिने तालिम दिर्दै आएको जानकारी दिनुभयो ।

दैनिक ५ वटा विषयमा तालिम दिइरहेको बताउँदै जसमा मादल बजाउने, बाल गीत र नृत्य, बाल मनोविज्ञान र उत्प्रेरणा प्रवचन कक्षा, खेर गएका कागजबाट विभिन्न सजावत तथा शिशुस्याहारमा काम लाग्ने साम्रगी बनाउने, चित्रकला र विभिन्न बाल खेलको तालिम दिइरहेको प्रजापतिले सुनाए ।

सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई कोरोनाको समयलाई पनि सदुपयोग गर्ने हिसावले तालिम संचालन गर्दै आएको प्रमुख प्रजापनिले बताउँनु भयो ।

साउन ३२ गतेदेखि सुरु गरेको तालिममा भक्तपुर नगरपालिकाद्वारा संचालित ६ वटा शिशु स्याहार केन्द्रमा कार्यरत २४ जना कार्यरत छन् । एउटा शिशुस्याहार केन्द्रमा दुईजना शिक्षिका र दुईजना आया गरी जम्मा ४ जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV