१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छनोट गर्नका लागि बैठक बस्न लागेको छ । केहीबेरमा देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि मन्त्री चयन गर्न डाकिएको बैठकमा समावेशी सिद्धान्तका आधारमा मन्त्री छनोट गरिने बताइएको छ ।

नेकपा (एस)का एक नेताका अनुसार सातै वटा प्रदेशको प्रतिनिधित्व हुने गरि समावेशी सिद्धान्तका आधारमा मन्त्री छनोट गरिनेछ । साथै, पूरानालाई छाडेर नयाँलाई सरकारमा लैजाने पनि उनले बताए ।

बुधबार बालुवाटारमा पनि मन्त्रालय भागबन्डाका लागि छलफल भएको छ । तर, छलफलबारे विस्तृत रुपमा बाहिर केही जानकारी दिइएको छैन ।

एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेको नेपाल समूहले देउवा सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री पाउने भनिएको छ । तर, दर्जनभन्दा बढी नेता मन्त्री बन्ने होडमा रहेका छन् ।

तर, पार्टीले भूगोल, समावेशिता र पूराना पुस्तालाई थाँती राखेर नयाँ पुरानालाई अटाएर मन्त्री छनोट गर्न लागेको छ ।

आज नै बागमती प्रदेशका १२ सांसद एमाले छाडेर नेकपा एसमा आएका छन् । उनीहरुले प्रदेशस्थित निर्वाचन आयोगमा गएर दल दर्तामा सनाखत गरेका छन् ।

बागमतीसँगै सुदूरपश्चिममा पनि एमाले छाडेर १३ सांसद नेकपा एसमा आउन लागेको बुझिएको छ । उनीहरु पनि आजै नेकपा एसमा आउँदै गरेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV