१५ भाद्र २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । कोरोना संक्रमणका कारण यसवर्ष पनि विराटनगरमा निकालिदै आएको राधाकृष्ण रथयात्रा प्रभावित बनेको छ । वि.सं. १९८८ देखि विराटनगरवासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा नं. १ पोखरीयास्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथयात्रा निकाल्दै आएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको परम्परागत रथयात्रा कोरोनाका कारण यसवर्ष पनि औपचारिकतामा मात्र मनाइएको छ ।

विगत ९० वर्षदेखि मनाइदै आएकोे भगवान श्रीकृष्णको रथयात्रालाई विराटनगरमा मात्र नभई पूर्वाञ्चलकै प्रमुख पर्वका रुपमा लिइन्छ । तर, कोरोना संक्रमणका कारण गत वर्ष पनि रथ यात्रा निकालिएन ।

त्यस्तै यसवर्ष पनि सामान्य रुपमा राधाकृष्णको जोडीलाई विराटनगर बजार परिक्रमा गराइएको आयोजक समितिका उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

सामान्य अवस्थामा करिब १० किलोमिटरको दूरी पार गरी पुनः सोही मन्दिरमा ल्याइने रथयात्रामा सुनसरी, मोरङ, झापालगायत जिल्लाबाट र भारतको विभिन्न शहरबाट भक्तजनहरु सहभागी हुने गरेका छन् ।

तर यसपटक भने आयोजक समितिको उपस्थितिमा मात्र रथ यात्रा निकालिएको हो । यस क्षेत्रको एतिहासिक महत्व मानिएको सो रथयात्रा गत वर्षदेखि कोरोनाका कारण मनाउन छोडिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न रोक लगाएसँगै रथ यात्रापनि आयोजक समितिको उपस्थितिमा मात्र निकालिएको हो । आयोजक समितिले पुरानो परम्परा संस्कृति जोगाउनको लागि सामान्य रुपमा रथयात्रा निकालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV