१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता होला वा नहोला भन्ने अड्कलबाजीबीच अमेरिकी सेनाले अन्ततःअफगानिस्तान छाडेको छ ।

अमेरिकी सेनाले राष्ट्रपति जो बाइडेनले घोषणा गरेकै मितिमा अर्थात् २०२१ अगष्ट ३१ भित्रै अफगानिस्तान छाडेको छ । पछिल्ला दिनमा काबुल विमानस्थलको भयावह अवस्थालाई सम्भवतः बीचमै छाडेर अफगानिस्तानको स्थानीय समय सोमबार राति ९ बजे अमेरिका बाहिरिएको छ ।

काबुल विमानस्थलबाट झण्डै एक लाख २३ हजार मानिसको उद्धार गरिएको भनिएपनि अझै पनि ठूलो सङ्ख्यामा मानिस उद्धारको पर्खाइमा रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक तथा मानवीय दुवै दृष्टिबाट निकै “महङ्गो” ठानिएको अफगान युद्धका क्रममा अमेरिका र अन्य मुलुकका गरी झण्डै तीन हजार ५०० सैनिकको मृत्यु भएको थियो ।

अफगानिस्तानमा सक्रिय तालिबान, इस्लामिक स्टेट समूह, हक्कानी नेटवर्कसमेतका समूहको आक्रमणमा परेर ६६ हजारभन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने ७० हजारभन्दा बढी सर्वसाधारण मारिएका थिए ।

युद्धका क्रममा ८० हजारभन्दा बढी तालिबानी र अन्य समूहका लडाकूको मृत्यु भएको ब्राउन विश्वविद्यालयले जनाएको छ । युद्धको त्रासबाट बाँच्न झण्डै २७ लाख अफगानी देश छाडेर अन्यत्र पलायन भएका थिए भने देशभित्रै पनि लाखौ मानिस विस्थापित भएका थिए ।

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकाले एक खर्ब ४३ अर्ब डलरभन्दा बढी खर्च गरेको अफगानिस्तानको पुनर्निर्माणसम्बन्धी इन्स्पेक्टर जनरल (सिगार)को प्रतिबेदनमा उल्लेख छ । अफगान युद्धका बीस वर्षमा झण्डै २३ खर्ब डलर अमेरिकाले खर्च गरिसकेको सिगारको भनाइ छ ।

अमेरिकी सेनाको अन्तिम टुकडीले काबुल बिमानस्थल छाडेलगत्तै काबुलका सडकमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले आतिसबाजी गर्नुका साथै आकाशतिर गोली पड्काएर विजयउत्सव मनाएका छन् ।

अफगानिस्तानको राजधानी काबुल सहित देशभर नियन्त्रण कायम गरेको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिमानस्थलमा राति नै पत्रकारसँग कुरा गर्दै भने, “अफगानिस्तानका सबै नागरिकलाई बधाई छ । यो विजय हामी सबैको हो ।”

“तालिबानको यो विजय अरु अतिक्रमणकारीका लागि पनि एउटा पाठ हो ।” उहाँले अगाडि भन्नुभयो, “हामी संयुक्तराज्य अमेरिका र विश्वका अरु मुलुकसँग राम्रो सम्बन्ध चाहन्छौँ । हामी सबैसँग राम्रो कुटनीतिक सम्बन्धका लागि स्वागत गर्दछौँ ।”

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन सहित अमेरिकी रक्षा मन्त्रालयले वासिङ्टन डीसीबाटै अमेरिकी सेनाले अफगानिस्तान छाडेको घोषणा गरेका थिए । विदेशमन्त्री ल्बिन्केनले अफगानिस्तान मामिलामा नयाँ अध्याय शुरु भएको बताएका थिए ।

अमेरिकाले अफगानिस्तानको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य र कुटनीतिक सम्बन्ध विकास गर्न चाहेको बताएका थए । तर उनले तत्कालका लागि अमेरिकी कुटनीतिक उपस्थिति काबुलमा नरहने र अफगानिस्तान मामिला कतारबाट हेरिने बताएका छन् ।

तालिबानले यसअघि सन् १९९६–२००१ सम्म अफगानिस्तानमा सत्ता सह्मालेको थियो । तर महिला र बालबालिकालाई पढ्न–लेख्न र काममा प्रतिबन्ध लगाउनुका साथै निकै कठोर न्याय प्रणाली अवलम्बन गरेका कारण तालिबान समूह विश्वमै बदनाम भएको थियो ।

अमेरिकी सेना खासमा सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर (ट्वीन टावर)मा विमानद्वारा आतङ्कवादी आक्रमण भएपछि अफगानिस्तान आइपुगेको थियो । त्यस आक्रमणमा झण्डै तीन हजार सर्वसाधारणको ज्यान गएको थियो ।

अल–कायदाका नेता ओसामा बिन लादेनले अफगानिस्तानमा तालिबान सरकारको संरक्षणमा ट्रेड टावर आक्रमणको योजना बनाएको अमेरिकी आरोप थियो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा/रासस)

प्रतिक्रिया दिनुहोस्

LIVE TV