१४ भाद्र २०७८, सोमबार
  • युवराज आचार्य,

झापा । प्रत्येक वर्ष कृष्ण जन्मअष्टमीको दिन हजारौंको संख्यामा भक्तजनहरूले भरिभराउ हुने झापाको पवित्र धार्मिक एवम् पर्यटकीय स्थल “कृष्णथुम्की“मा कोरोना भाइरस संक्रमणका कारण यसपाली पनि प्रभावित भएको छ ।

कृष्ण जन्मअष्टमीको अवसरमा प्रत्येक वर्ष भव्य धार्मिक मेलाको आयोजना हुँदै आएको यस कृष्णथुम्की मन्दिरमा कोरोना कहरले गतवर्ष र यसपाली बृहत पूजा तथा धार्मिक मेला प्रभावित भएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट करिब १८ किमी उत्तर जाँदा पुगिने यस पूर्वको पवित्र धार्मिक स्थलमा विगतका वर्षहरूमा कृष्ण जन्मअष्टमीको अवसरमा हजारौंको संख्यामा भक्तजनहरू आउने गरेको स्थानीयले बताएका छन् ।

कृष्णथुम्कीमा विगतका बर्षहरूमा स्थानीयसँगै प्रदेश नम्बर १ का झापा, इलाम, मोरङसहित अन्य जिल्ला तथा छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम र भूटानबाट पनि केही भक्तजनहरू आउने गरेका थिए । तर, यसबर्ष कोरोनाका कारण थोरैको संख्यामा मात्र स्थानीय भक्तजनहरू कृष्णको पुजा आराधना गर्न मन्दिरमा आएका छन् ।

समुन्द्री सतहबाट ४७० मिटर उचाईमा रहेको यस थुम्की वा डाँडाको शीर्ष भागमा भगवान् श्रीकृष्णको मन्दिर स्थापना गरिएको छ । आजभन्दा २३ वर्षअघि सामान्य वन क्षेत्रका रुपमा रहेको यस थुम्कीमा २०५५ सालमा विद्वान तथा इतिहासकार योगी नरहरिनाथबाट कृष्ण मन्दिरको शिलान्यास भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कृष्ण थुम्कीको नामाकरणको इतिहास तथ्यगत रुपमा फेला परेको नभए तापनि महाभारतकालीन कथा र पात्रहरुसँग यसको प्रसङ्ग जोडिएको मन्दिर व्यवस्था समितिका सचिव गौरीशंकर आचार्यले बताए ।

विगतका बर्षहरूमा व्यापक प्रचारप्रसार गरि भव्य धार्मिक मेलाको आयोजना हुँदै आएको यस मन्दिर परिसरमा गत बर्ष र यस बर्ष कोरोना संक्रमण त्रासका कारण प्रचारप्रसार नगरेका कारण पनि भक्तजनहरू कम भएको मन्दिर व्यवस्था समितिका सचिव आचार्य बताए ।

पछिल्लो समय पर्यटकको मुख्य आकर्षणका रूपमा स्थापित हुँदै गएको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलको विकास र प्रवर्द्धनमा स्थानीय सरकार लागि परेको मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङले बताए । साथै कृष्णथुम्कीको विकासका लागि डिपिआर समेत तयार गरिसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

त्यसैगरी झापाका अन्य स्थानमा रहेका कृष्णका साना ठूला मन्दिरहरूमा पनि यसपाली कोरोना कहरले विगतको जस्तो भीडभाड देखिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV