१४ भाद्र २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेहरु थुप्रै रहेकाले छनोट गर्न निकै गाह्रो भइरहेको बताउँदै आएका छन् । केही समयअघि पार्टी कार्यालय पेरिस डाँडामा उनले ‘मेरो दिमागमा आतंक छ, सबैलाई मन्त्री बनाउन पाइदैन’ भनेर भनेका थिए ।

उक्त भनाई नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा उनले भनेका हुन् । उनले त्यहाँ देउवा सरकारमा माओवादीबाट बढीमा ७ जना मन्त्री बन्ने बताएका थिए । हाल माओवादीबाट जर्नादन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन् ।

बाँकी ५ मन्त्रीमा क–कस्ले बाजी मार्लान् ? तत्कालीन ओली सरकारमा खानेपानी मन्त्री रहेकी बुहारी बिना मगर पुनः मन्त्री बन्न लागेको चर्चा छ । ससुरा बुवा अर्थात् अध्यक्ष प्रचण्डले बिना मगरलाई मन्त्री बनाउने तयारीमा लागेको बालुवाटारनिकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिना मगरलाई मन्त्री बनाउनका लागि दवाव सिर्जना गर्दै आएका छन् । माधव नेपाल समूह एमालेबाट छुट्टिएर निर्वाचन आयोगबाट नयाँ दलको मान्यता प्राप्त गरेसँगै आगामी बुधबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

देउवा सरकार मन्त्रिपरिषद् गठनको रफ्तारमा रहँदा अध्यक्ष प्रचण्ड पनि बुहारीलाई मन्त्री बनाउन लागिपरेका छन् । हाल नेकपा माओवादीबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डले पाएका नै छन् ।

नेपाली काँग्रेसबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवं सभापति देउवाले पाएका छन्, जसपाबाट उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपालले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV