१४ भाद्र २०७८, सोमबार
  • निमेन्द्र शाही,

बाजुरा । बाटो घाटो नहुँदा वर्षेनी बारीमा स्याउँ कुहिएर गाई बस्तुलाई दिनुपर्ने बाध्यता थियो, तर यो वर्ष भने स्याउको बोटमा स्याउका दाना नै छैन । यस वर्ष हिउदको समयमा पानी र हिउँ पर्याप्त नपर्दा जमिनमा चिस्यान नभएका कारण बोटमा दाना नलागेको हो ।

बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका स्वामीकार्तिक खापार गाउँपालिका, बुढीनन्दा नगरपालिका, जगन्नाथ र हिमाली गाउँपालिका गरी चार स्थानीय तहका जनताले स्याउ खेती गर्दै आएका छन् । विगत दुई वर्षयताबाट मात्र यस जिल्लाको स्याउँ जिल्ला बाहिर जान लागेको हो ।

जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । हरेक वर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुदै आएको थियो । तर, यस वर्ष स्याउको फूल फुल्ने समयमा पानी नपर्दा खडेरीको कारण ७० प्रतिशत उत्पादन घटेको छ ।

सडक सञ्जालले नजोडिएको यस जिल्लाको स्याउँ फल्ने बस्तीहरुमा अझै पनि खच्चरबाट ढुवानी गरेर कोल्टीको विमान स्थलसम्म पु¥याएर जहाजमा चढाएर नेपालगञ्ज झार्ने गरिएको छ । गएको वर्ष बाजुरा जिल्लाबाट दोस्रो पटक स्याउको ब्राण्डसहित चार सय क्वीन्टल बजारमा गएको थियो ।

त्यसको स्वादले लोभ्याएका बजारका उपभोक्ताले यस वर्ष पनि यहाँको स्याउँको प्रतिक्षा गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराले ढुवानीको लागि जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ ।

तर, बगैचामा स्याउ नै नफलेपछि किसानहरु चिन्तित भएका छन् । ‘मेरो दुई वटा बर्गौता छ । दुई हजार बढी बोट फल्थे अहिले सबै बोटहरु खाली छन् । स्याउँलाई बोटले धान्न नसकी टेका लगाउँने समय हो । अहिले खाली बोट हेरेर बस्नु परेको छ । गएको वर्षमा हरेक घरका मान्छेले कम्बीको बिस पच्चिस हजार रकम बुझेका थियौं । यस वर्ष समयमा पानी आएन, हिउँ पनि परेन, त्यो कारण होकी हाम्रो स्याउँ फलेन । मुस्किलले तीन–चार क्वीन्टल स्याउँ उत्पादन हुँने वाला छ’, स्वामीकार्तिक खापर गाउँपालिका–३ का किसान अन्तिमजंङ्ग शाहीले भने ।

त्यस्तै, जगन्नाथ गाउँपालिका–३ का नैन बहादुर शाहीले भने, ‘यस अगाडिका वर्षसमा जसरी स्याउँको उत्पादन थियो, त्यसरी यस वर्ष फलेन । पोहोरको वर्ष हामीले नेपालगञ्ज पठाएका थियौ । डुवानी गर्नको लागि समस्या भयो, यस बर्ष बोटमा हामीलाई खानको लागि समेत समस्या भएको छ ।’

त्यस्तै, कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोबिन्द सिजापतीले भने, ‘जल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । हरेक वर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुँने गरेको थियो । यस वर्ष स्याउँको फूल फुल्ने समयमा पानी नपर्दा खडेरीको कारण ७० प्रतिशत उत्पादन घटेको छ । यस वर्ष हिउँ नपर्दा जमनमा चिस्यान भएन । यस कारण स्याउँको उत्पादन कल्पना नगरेको मात्रामा घटेको हो ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV