१४ भाद्र २०७८, सोमबार

काठमाडौँ । चीनले कोरोना भाइरसको उत्पत्तिबारेको विवादमा नेपालको अडान निष्पक्ष रहेको भन्दै धन्यवाद दिएको छ ।

नेपालमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले विश्व समुदायमाझ चीनलाई मुछेर भइरहेका विवादमा नेपालको अडान वस्तुगत र निष्पक्ष रहेको भन्दै धन्यवाद दिएका हुन् । सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै उनले कोरोना भाइरसको उत्पत्तिबारे भइरहेको राजनीतिकरणका प्रयासहरुलाई चिर्नका लागि समेत नेपालसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्दै चीनविरुद्ध अभिव्यक्तिहरु सुरुदेखि नै दिँदै आएको थियो ।
अमेरिकाको गुप्तचर संस्थाले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले कोरोना उत्पत्तिको विषयमा अनुसन्धान गर्ने कार्यमा अवरोध खडा गर्दै आएको र अन्य मुलुकलाई यसबारे सही डेटा दिन अस्वीकार गरेको आरोप लगाएको थियो ।

उक्त प्रतिवेदनलाई चिनियाँ दूतावासका प्रवक्ताले ‘राजनीतिक प्रयोजन’का लागि सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले सो प्रतिवेदनमा कुनै वैज्ञानिक आधार नरहेको र अन्य देशहरुले पनि स्वीकार गर्न नसक्ने बताएका छन् । साथै कोरोना भाइरसको उत्पत्तिलाई लिएर राजनीतिकरण गर्न भएका प्रयासहरुको विरोध गर्दै केही समय अगाडि ८० भन्दा बढी मुलुकले विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको दाबी समेत विज्ञप्तीमा पेश गरेका छन् ।

उनले नेपालको भूमिका भने निष्पक्ष रहेकोमा प्रशंसा गर्दै चीनले नेपाललाई महामारीविरुद्ध गरेका सहयोगको समेत स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV