१४ भाद्र २०७८, सोमबार

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ की १६ वर्षीया काजलकुमारी सदा हरेक बिहान ८ बजे इँटाभट्टा जान्छिन् । चार घन्टा इँटा ओसारेर घर फर्किन्छिन् । दैनिक एक हजार इँटा ओसार्दा तीन सय ५० रुपैयाँ कमाई हुने काजल बताउँछिन् । ‘एकपटकमा १० वटा काँचो इँटा टाउकोमा बोकेर पोल्ने ठाउँसम्म पुर्‍याउने गरेकी छु,’ उनी भन्छिन् ।

इँटा ओसारेरै मासिक १० देखि १२ हजार रुपैयाँ कमाउने गरेको बताउने काजलको परिवारमा सात दिदीबहिनी, एक भाइ र बुवाआमासहित १० जना छन् । तर, १० जनाको परिवार पालिने उपाय भनेको मजदुरी मात्रै हो । सम्पत्तिको नाममा घडेरीबाहेक केही छैन । बाबुले मजदुरी गरेको पैसाले परिवारको दैनिकी धान्न समस्या भएपछि आफूले पनि काम गरेर परिवारलाई आर्थिक रूपमा सहयोग गर्दै आएको काजल बताउँछिन् ।

२ कक्षा पढ्दै गर्दा उनले पढाइ छाडिन् । ‘वडामा हाम्रो समुदायको कोही पढ्दैनन् । मलाई पनि पढ्न मन लागेन, पढाइको महत्त्व पनि थाहा थिएन । मजस्तै अन्य बालबालिकाले भट्टामा काम गरेर पैसा कमाएको देखेर मैले पनि तीन वर्षदेखि इँटा ओसारेर आर्थिक आम्दानी गर्न थालेकी हुँ,’ काजल भन्छिन्, ‘आफूले पैसा कमाउँदा चाहेको आवश्यकता पूरा हुँदो रहेछ। जीवनमा कुनै किसिमको समस्या हुँदैन ।’

सोही वडाकी रूपाकुमारी सदा पनि १७ वर्षकी भइन् । उनीले पनि भट्टामा काम गर्न थालेको तीन वर्ष भयो । उनको परिवारमा पनि पाँच दाजुभाइ दिदीबहिनी, आमाबाबु तथा हजुरबुबा हजुरआमा गरी नौजना छन्। बाबुले कमाएको पैसा रक्सीमा सक्न थालेपछि आमाले मात्र कमाएर परिवार धान्न समस्या भएपछि उनी पनि भट्टामा काम गर्न थालेकी हुन् ।

उनी भन्छिन्, ‘हाम्रो समुदायको कोही विद्यालयमा पढ्दैनन् । दुई छाक हातमुख जोर्न समस्या भएपछि इँटाभट्टामा काम गर्न थालेकी हुँ ।’ उनी घरकी जेठी छोरी हुन् । उनले कमाउन थालेपछि परिवारको आर्थिक अवस्था सहज भएको छ । भाइबहिनी र परिवारको सदस्यलाई दुईछाक हातमुख जोर्न सजिलो भएको छ। उनले एकपटकमा आठवटा इँटा बोक्छिन् । दैनिक पाँच घन्टा काम गर्छिन्। महिनाको आठदेखि १० हजार रुपैयाँ कमाउँछिन्।

सोही वडाकी १५ वर्षीया कालीकुमारी सदाले इँटा बोकेर परिवार धानेको दुई वर्ष भयो । उनका तीन भाइबहिनी छन् । आमा बिरामी छिन् । बुवाले दिनभरि कमाएको पैसा रक्सीमा सक्न थालेपछि परिवार सञ्चालन गर्न समस्या भएपछि इँटा ओसार्न थालेको उनले बताइन्।

उनले भनिन्, ‘महिनाको नौदेखि ११ हजार रुपैयाँ कमाउँछु । मैले नै परिवारको खर्च धानेकी छु। पढ्ने इच्छा त थियोे । तर, हाम्रो समुदायको कसैलाई विद्यालय पठाउँदैनन् । मेरो त आर्थिक हिसाबले पढ्ने स्थिति पनि थिएन ।’

आफ्नो समुदायका कोही पनि शिक्षित भएर जागिर खान नसकेको सोही वडाकी १४ वर्षीया कैलीदेवी सदाले जानकारी दिइन् । उनी भन्छिन्, ‘हाम्रो समुदायमा कसैले शिक्षित भएर जागिर खान सकेको छैन । सम्पत्ति पनि छैन ।’

मजदुरी गरेरै खानुपर्ने बाध्यता छ । परिवारमा सदस्य पनि बढी हुन्छन्। घरका अभिभावक बाबुले कमाएको पैसा रक्सीमा सक्ने हुनाले दुईछाक हातमुख जोर्नसमेत समस्या हुन थालेपछि यो वडाका हाम्रो समुदायका अधिकांश बालबालिका इँटा ओसारेर परिवारलाई आर्थिक रूपमा सहयोग गर्न बाध्य भएको कैलीको भनाइ छ।

उनी भन्छिन्, ‘हाम्रो नजिकका गाउँमा एक दर्जन इँटा भट्टा छन् । हामी सबैजना सजिलै काम पाउँछौँ । फेरि जति विपन्न भए पनि अन्य समुदायका बालबालिका इँटा भट्टामा काम गर्न जाँदैनन्। हाम्रो समुदायका मात्र कलिलो उमेरका बालबालिका जाने गरेका छन्।’

हुर्किन थालेकी छोरीहरु भट्टामा काम गर्न नगए बिहान बेलुकाको छाक टार्नै समस्या हुने स्थानीय ५० वर्षीया दुर्गादेवी सदा बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो समुदायका १२ देखि १३ वर्षमाथिका छोराछोरी इँटा भट्टा काम गर्न गएनन् भने हामीलाई दुईछाक हातमुख जोर्न समस्या हुन्छ।’

पुरुषहरुले कमाएको पैसा उनीहरुले मादक पदार्थ सेवन गरेर सक्ने भएकाले महिलाहरुले घर व्यवहार धान्नुपर्ने यो समुदायको पीडाको रुपमा देखिन्छ । ‘छोरीहरूले काम गरेको पैसा परिवारमा खर्च गर्छन् । तर, बुढा र छोराहरूले कमाएको पैसा रक्सी चुरोट खाएर सक्छन्’, दुर्गादेवी गुनासो गर्छिन् ।

घरका पुरुषहरूले पैसा रक्सी भट्टीमा सक्ने भएकाले परिवारको जीविकोपार्जन गर्न बालबालिका उमेर नै नपुगी इँटा भट्टामा काम गर्न बाध्य भएका हुन् ।
त्यस्तै, स्थानीय ४५ वर्षीया आशादेवी सदाले भनिन्, ‘दिनभरि मजदुरी गर्ने बेलुका दिनभर कमाएर ल्याएको पैसा रक्सीमा सक्ने हुनाले हामीलाई परिवार धान्न समस्या भएको हो।’-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

LIVE TV