१४ भाद्र २०७८, सोमबार

काठमाडौँ । दार्चुलाका जयसिंह धामी तुइँन चुँडिएर बेपत्ता भएको प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्ट पार्न सत्तारुढ गठबन्धनका नेताहरुले आग्रह गरेका छन् ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबण्डाबारे छलफल गर्न बसेको बैठकमा जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त घटनामा सरकारले आफ्नो अडान वा धारणा स्पष्ट पार्नुपर्ने बताए । घटनाको छानबिन गर्न सरकारले नै बनाएको समितिको प्रतिवेदन तत्कालै बाहिर ल्याएर सोही आधारमा भारतसँग वार्ता गर्न उनीहरुको आग्रह थियो ।

गत साउनमा १५ मा धामी विदेश जाने सपनासहित भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम झर्नका लागि महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएको भनिएको छ । यसबारे सरकारी टोलीले स्थलगत अध्ययन गरेर फर्किए पनि न धामीको लास पत्ता लाग्यो, न त प्रतिवेदन नै बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV