१४ भाद्र २०७८, सोमबार

काठमाडौँ । कोरोना महामारीले देशको अर्थतन्त्रलाई चौपट मात्र बनाएन धराशायी बनाएर छाड्दैछ । हुनत कोरोनाको प्रभाव अझै उस्तै छ । यस्को प्रभावले अझै नेपाली समाजलाई कहिलेसम्म गाँज्ने हो त्यस्ले पनि अर्थतन्त्रमा परेको असरको थप क्षतिको मापन होला । तर अहिलेसम्मको क्षतिको आंकडा हेर्दा नेपाल र नेपालीलाई यो अवस्थाबाट उठ्न निक्कै बर्ष लाग्ने प्रष्ट छ । यही लहरमा नेपालको पर्यटन जगत पनि अछुतो रहन सकेन । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल ट्वान्टी ट्वान्टीको औपचारिक आरम्भको तयारी गर्दै गर्दा जागेको कोरोनाले नेपालको पर्यटन क्षेत्रलाई थला नै पारेरै छाड्यो ।

प्रत्यक्ष अप्रत्यक्षरुपमा संलग्न १२ लाख बढीलाई रोजगार दिलाएको र विदेशी मुद्रा आर्जन गर्ने दोस्रो ठूलो माध्यम बनेको पर्यटन क्षेत्र थला पर्दा राज्यले भने गम्भीरता प्रकट गरेको पटक्कै देखिएन् । अब त सोच्ने कि मात्र होइन विमानस्थल नै खोल्ने कि भन्ने अवस्था आइसक्यो । कोरोनाको कारण १ खर्ब गुमाइसकेको नेपालको पर्यटन जगतले अब थप गुमाउने अवस्था छैन ।

दक्षिण एशियाकै केही देशले पर्यटकीय गतिविधि खोलिसके । नरिवलको रुख र समुद्र देखाएर पनि पर्यटक बोलाउन जान्ने हाम्रा छिमेकी देशहरुको तुलनामा नेपाललाई धर्तीको स्वर्ग मान्ने विदेशी नभएका होइनन् । हाम्रा हिमालहरु र प्रकृतिले दिएका धेरै अनुपम स्थलहरु पर्यटक लोभ्याउन काफी छन् । तर खोइ त ? यसपटक कोरोनाले थलियो यही आकर्षक पर्यटकीय क्षेत्र । कहिले भूकम्पले हल्लायो त कहिले माओवादीको सशस्त्र युद्दले । राजनीतिक उतारचढावका कारण नेपालको पर्यटन क्षेत्रले बारम्बार गुमाउँदै आयो । तर त्यही राजनीतिक क्षेत्र भने नेपालको पर्यटन जगतका लागि कहिले पनि उदार बन्न सकेन् ।

पर्यटकीय मौसम सुरु हुन लाग्दा नेपालको बारेमा विदेशीहरुको ‘ट्राभल इक्वायरी’ बढेको छ । नेपाल आउन चाहने पर्यटकहरुले खुट्टा उचालिसके । तर विदेशी पर्यटकलाई बोलाउने बारेमा भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको बन्देजहरु अझै पनि खुल्न सकेको छैन । विमानस्थलमा नै दिइने अनअराइभल भिसा रोकिएको उहिले हो तर अहिलेसम्म त्यस्मा पुर्नविचार गर्ने कुनै प्रयास भएको छैन ।

बहराइनका युवराज कोभिड कालमा नै हिमाल चढेर फर्किए । त्यस्तै रहर राख्ने धेरै विदेशी नेपाल आउन लालायित छन् तर राजकुमार र अरु पर्यटकमा विभेद किन ? अतिथि देवो भवः हुन नि हाम्रा लागि सबै । विमानस्थलमा कडाई गर्नुको सट्टा डबल डोज भ्याक्सिन लगाएका र क्युआर कोड बोकेका पर्यटकहरुको बारेमा अब त सोच्ने कि ? विमानस्थलमा पीसीआर नभए एन्टिजेन टेष्टको व्यवस्था गरेर भएपनि अब पर्यटक बोलाउन ढिला भइसक्यो । त्यसमाथि विदेशी पर्यटकले नेपाल आउँदा १० दिन क्वारेन्टाइनमा बस्ने झन्झटिलो प्रावधानमा पनि पुर्नविचार नै गर्ने बेला भइसक्यो । विश्वका धेरै देशहरु भ्याक्सिनमा गइसकेको अवस्थामा नेपाल आउने पर्यटकहरु अधिकांश भ्याक्सिनेटेट नै हुने पक्का छ ।

पर्यटन व्यवसायसग आवद्ध सबै व्यवसायीहरुको अवस्था दयनीय छ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि भनेर धेरै पर्यटन व्यवसायीले मनग्ये लगानी गरे । तर कोरोनाले बढारेको त्यो लगानी उकास्न अब धेरै पसिना बगाउनु पर्ने निश्चित छ । त्यस्का लागि पनि चाहिने पर्यटक नै हु्न् ।
आम्दानी हुँदा सरकारलाई कर तिरेका पर्यटन व्यवसायीहरु अहिले सरकारबाट राहतको आश गरिरहेका छन् । मुलुक लकडाउनमा गएपछि २०७७ साल बैशाखदेखि धेरै लिएको घरभाडा तिर्न सकेका छैनन् भने कर्मचारीलाई तलवज्याला समेत दिन सकेका छैनन् । यही कारण कर्जा र करमा व्यवसायीले सरकारबाट राहतको आश गरेका हुन् । कर्जा तिर्ने सवालमा केही समयको व्यवस्था मिलाइदिए पनि करको मामिलामा सरकार अझै उद्दार नभएको गुनासो सबैतिर सुन्न पाइन्छ ।

करिब डेढ खर्ब रुपैयाँ लगानी रहेको नेपालको पर्यटनक्षेत्रले ८० अर्ब भन्दा बढी ऋणको भार बोकेको छ । पर्यटन व्यवसायीको खर्बौं लगानी कोरोनाले गर्दा जोखिममा पर्दा पनि सरकार भने राहतलाई अझै पनि भाषणमा मात्र सीमित राख्दै आएको छ । त्यसमाथि सरकारले दिने भनिएको राहतस्वरुपको पुनर्कर्जासमेत व्यवसायीले सहज रूपमा पाउन नसक्दा यो क्षेत्रमा निराशाको लहर थप बढ्ने भय पनि बढ्दो छ ।
त्यसैले सरकार अब कोरोना भित्र्याउन होइन डलर भएपनि भित्र्याउन गम्भीर बन्नै पर्ने भएको छ ।

देशभित्र सबै जात्राहरु र राजनीतिक दलका सबै नाटक खुल्ला गरेर पर्यटकलाई मात्र रोक्दा हाम्रा हिमालहरु हेरिदिने कस्ले ? पर्यटन क्षेत्रमा संलग्नहरुलाई भ्याक्सिनको व्यवस्था गरिदेऊ सरकार, आउन खोज्ने विदेशीहरुको स्वास्थ्य अवस्थाबारे राम्रो हेक्का राख । अब कोरोनालाई मात्र देखाएर हाम्रा सम्पदाहरु सुनसान राखिनु हुन्न ।

हाम्रा पर्यटकीय वस्तीहरुलाई बुच्चै पारिनुहुन्न । त्यसैले अबको पर्यटकीय सिजनमा देशभित्र विदेशीहरु पनि देखिनु पर्छ । ठमेलदेखि हिमालसम्म र पोखरादेखि तराई, मधेस र पहाडसम्म पर्यटक भेटिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV