१४ भाद्र २०७८, सोमबार

काठमाडौँ । कोभिड- १९ को प्रभाव पछि नेपालमा पर्यंटन व्यवसायसँग जोडिएको सबै क्षेत्रको अवस्था डामाडोल बनेको छ । यस क्षेत्रसँग आबद्ध लाखौं मजदुरहरुको अवस्था पनि नाजुक बनेको छ । काठमाडौं ठमेलका रिक्साचालक मात्र नभइ हिमालको चुचुरोसम्म पर्यटक तथा आरोहीहरुलाई साथ दिनेहरु सबैको अवस्था दयालाग्दो छ ।

कोभिड १९ को कारण पर्यटनसंग प्रत्यक्ष जोडिएका १० देखि १२ करोडको रोजगारी जोखिममा पर्दा नेपालमा पनि ठूलो संख्यामा मजदूरहरु मारमा परेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरि १२ लाख बढी मानिस नेपालको पर्यटन क्षेत्रसंग जोडिएको आंकडा छ । तर अहिले न ठमेलका रिक्सा चालकले पर्यटकलाई आफ्नो रिक्सामा चढाउन पाएका छन् न पर्यटकको सामान बोकिदिने भरियाले भारी उचाल्न पाएका छन् ।

भनिन्छ- एक जना पर्यटक नेपाल भित्रँदा नौ जनासम्मका लागि रोजगारी श्रृजना गरेर भित्रन्छन् । तर नेपालमा पर्यटक भित्रन नपाएको लगभग डेढ वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिण एसियाली छिमेकीहरु भूटान र माल्द्धिभ्सले पर्यटकीय गतिविधि खोलिसकेको अवस्थामा अब नेपालमा पनि सबै सतर्कता पूरा गरेर पर्यटकहरु आवागमन खुल्ला गरिनु पर्ने माग चौतर्फी उठ्न थालेको छ । विमानस्थलदेखि होटलसम्म र काठमाडौंदेखि जिल्लासम्म एवं शहरदेखि गाउँसम्म पर्यटकका लागि लगाइएको झञ्झटिलो प्रावधान हटाउनु पर्ने मागहरु पनि उठन थालेका छन् ।

५ हजार गाइड मारमा

विदेशी पर्यटकलाई काठमाडौै उपत्यकाका बिभिन्न शहर र देशका बिभिन्न ठाउँमा घुमाएर पाउने पारिश्रमिकबाट गुजारा चलाउने पर्यटक गाइडहरू अहिले रोजगारविहीन छन् । करिब पाँच हजार लाइसेन्स लिएका गाइडहरू यस क्षेत्रमा कार्यरत थिए । उनीहरू अधिकांश स्वतन्त्ररूपमा काम गर्दै यही क्षेत्रलाई आफ्नो रोजगारीको माध्यम बनाउँदै आएका थिए । तर अहिले उनीहरुको अवस्था नाजुक छ ।

रिक्साचालक न्यास्रो मान्दै

यस्तै काठमाडौंमा रिक्सा चलाएर जीविको पार्जन गर्नेहरुको पनि विदेशी पर्यटक कमाईको राम्रो आम्दानीमा पर्छन । तर रिक्सा चालकहरुले विदेशी पर्यटक बोक्न नपाउँदा उनीहरु समेत न्यास्रो मान्न थालिसके ।

अब त पर्यटक बोलाउनुपर्छ : ट्याक्सी चालक

यता ट्याक्सी चालकहरुको पीडा आफ्नै छ । उनीहरु पनि पर्यटक बोक्न नपाउँदा परेको असरबाट दुःखी छन् । डबल डोज भ्याक्सिन हानेका र क्युआर कोड भएका पर्यटकहरुलाई खुल्ला गरिनु पर्ने माग पनि ट्याक्सी चालकहरुको छ । विमानस्थलमा नै कोरोना परीक्षणको व्यवस्था गरेर भएपनि पर्यटकलाई छोड्नु पर्ने पनि उनीहरुको माग छ ।

सरकार जिम्मेवार भएन : ट्रेकिङ मजदुर

पर्यटक गतिविधि ठप्प हुँदा प्रभाव परेको क्षेत्र ठूलो भएपनि सरकारले अझे पनि यस क्षेत्रलाई गम्भीरताका साथ लिन सकेको छैन । मुलुकको अर्थतन्त्रमा ठूलो असर पारेको कोरोनाले पर्यटन क्षेत्रलाई लामो समयसम्म उठन नसक्ने गरी थलाएको छ । सार्कका भूटान र माल्द्धिभ्सले पर्यटकीय गतिविधि खोलिसक्दा नेपालले भने केही नसोच्नु अचम्म भएको टे«किङ मजदुरहरुको गुनासो छ ।

पर्यटकीय मौसम आउँदै, सरकार अझै अलमलमा

अब नेपालमा हिमाल आरोहणको मात्र नभएर पर्यटकीय मौसम पनि सुरु हुँदैछ । वर्खा लगत्तै मुलुक शरद ऋतुमा प्रवेश गर्दा आउने पर्यटकको पनि ताँती नै लाग्छ । नेपाल आउन चाहने विदेशी पर्यटकहरुले नेपालको बारेमा लगातार जानकारी मागिरहेको तर सरकारले कुनै कदम नचाल्दा यस क्षेत्रमा समर्पित मजदुरहरु दुःखी छन् ।

हिमाल आरोहण गर्न आउँने मात्र नभइ ट्रेकिङमा जान रुचाउने पर्यटकहरुको भरिया बनेर हिड्ने पर्यटन मजदुरहरुको अवस्था झनै नाजुक छ । अहिले केही काम नभएपछि गाउँघरमा गएर खेतिपातीमा नै व्यस्त भएका उनीहरु मध्ये शहर केन्द्रित मजदुरहरुको अवस्था भने दयनीय छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV