१३ भाद्र २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । तर, सरकारले गरेको कामको आधारमा समर्थन वा विरोध भने गर्ने उनको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘हामी बाहिर रहेर सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं । यो गठबन्धनको आवश्यक छ । संसद्माथि पनि खतरा छ । केपी ओली कुर्लिरहेका छन् । संसद् र सरकार रक्षा गर्नुपर्ने आवश्यक छ । हामी बाहिर बसेर सरकारलाई समर्थन गर्छौं ।’

उनले थप भने, ‘सरकारले गल्ती गर्छ भने विरोध गर्छौं । सरकारको मूल्याङ्कन गर्ने अवस्था छैन । सरकारलाई मद्दत गर्नुपर्छ । सरकारात्मक काम गर्नको लागि सरकारलाई बाहिरबाट सहयोग गर्नुपर्छ । नकारात्मक काम गरे विरोध गर्छौं ।’

उनले भने, ‘हामी सरकारमा जाँदैनौं । तर, सरकारलाई हाम्रो पूर्ण समर्थन छ ।’ अहिले ल्याएको अध्यादेश लक्षित पार्टी फुटाउने गरि ल्याईएको उनले सुनाए ।

उनले भने, ‘अहिलेको अध्यादेशको लक्ष्य एमालेलाई फुटको निम्ति सहज बनाउन ल्याएको हो । यो विभाजनले के काम गर्छ भने प्रतिगमनको यात्रा रोक्नको लागि यसले काम गरेको छ । माधव नेपाल र झलनाथ हुँदैन थिए भने प्रतिगमनलाई परास्त गर्न सकिँदैन थियो । प्रतिगमनकारी सरकार हटाएर लोकतान्त्रिक सरकार बन्यो । प्रक्रिया बेठीक भएपनि अध्यादेश ल्याउनु उद्देश्य राम्रो थियो ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV