१३ भाद्र २०७८, आईतवार

काठमाडौं । दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । सबै व्यवसाय सञ्चालन गर्न दिइए पनि यसतर्फको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदेखाए पछि आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेर चाबी बुझाएको समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

व्यवसायीले बुझाएको पत्रमा भनिएको छ, ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौँ ।’

कोरोना महामारीका कारण वैशाख १६ देखि जारी निषेधाज्ञा जारी रहेको छ । हाल निजी तथा सार्वजनिक यातायात, सार्वजनिक स्थानमा पसल सञ्चालनलगायत व्यवसायहरु खुला गर्न सरकारले दिएको छ ।

तर, अन्य क्षेत्रजस्तै दोहोरी साँझ र रात्रीकालीन व्यवसाय भने खुलाउन सरकारले दिएको छैन । यस विषयमा व्यवसायीले स्वास्थ्य मापदण्ड नै बनाएर व्यवसाय खोल्न भनि यसअघि धेरैपटक सरकारको ध्यानाकर्ष गरेको थियो ।

पटक पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराए पनि कुनै चासो नदेखाइएपछि बाध्य भएर व्यवसायीले आइतबार सिडिओलाई चाबी बुझाउँदै घरभाडा, व्यवसाय घर, बैंकको ऋणलगायतको आफूहरुको दायित्वको जिम्मा लिनुपर्ने आग्रह गरेका छन् ।

व्यवसायीको पत्रमा भनिएको छ, ‘अतः सम्पूर्ण व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

अध्यक्ष श्रेष्ठका अनुसार सरकारले कुनै व्यवसायीलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । उनले भने, ‘स्वास्थ्य मापदण्ड अन्य व्यवसाय चलाउन मिल्छ भने यस क्षेत्रको व्यवसायचाहिँ किन बन्द ? हामीले पनि त सरकारलाई कर बुझाएका छौँ अन्य व्यवसायीले झँै ? अनि किन काखा र पाखा ?’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV