१३ भाद्र २०७८, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगाइँदै आइएको कोभिड-१९ विरुद्धको खोप प्रभावकारी देखिएको जनाएको छ । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक मात्रा र पूर्ण मात्रा खोप प्रभावकारी देखिएको भन्दै सबैलाई पालोअनुसार खोप लगाउन भनेको छ ।

‘स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिलाई समेटी संकलित नमुनाहरुमध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमुनामा कोभिड १९९ एन्टिबडी देखिएको छ,’ मन्त्रालयको जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वेक्षणले सातै प्रदेशका सबैमा नै समान रुपमा एन्टिबडी देखिएको देखाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण खोप मात्रा लगाएकाहरु ९० प्रतिशतमा एन्टिबडी देखिएको छ जसले हामीले लगाइराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखाउँछ ।’

मन्त्रालयले २०७८ असार २१ देखि ३० सम्ममा संकलित नमुनाहरुमध्ये १३ हजार एक सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो ।

भाइरसले रुप परिवर्तन गरिरहेको भन्दै मन्त्रालयले सबैलाई सचेत रहन र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा आउन पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै प्रभावकारी उपाय हो । कुनै पनि स्वास्थ्यमा समस्या हुने बित्तिकै परीक्षण गर्न र स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जानकारी गराउनुका साथै १० दिन आइसोलेसनमा बसी स्वास्थ्यकर्मीको निगरानीमा रहनुहुन अनुरोध छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV