१३ भाद्र २०७८, आईतवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसेको पूर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिइएको हो ।

समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको बताए । ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए ।

ढकालले शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने बताए । कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल सञ्चालन गर्नुपर्ने, शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न संगठनले माग गरेको छ ।

संगठनले २०७७ साल फागुन २२ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुंदे सहमति तत्काल कार्यन्यन गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV