१३ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र एमाले प्रवृति नदोहरिने स्पष्ट पारेका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा कम्युनिस्ट आन्दोलन बचाउनकै लागि बिद्रोह गरिएको भन्दै आफ्नो पार्टीमा अब एमाले प्रवृति नदोहरिने बताएका हुन् ।

उनले यसअघि एमालेमा एकल हस्तक्षेप हावी भएको, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक विचारलाई उपेक्षा गरिएको आरोप लगाए । यसअघि पनि मनमोहन अधिकारी, महोनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको र त्यसले कम्युनिस्ट आन्दोलन, राष्ट्रियता बचाएको भन्दै उहाले अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे ।

उनले पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे । त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताए ।

केही व्यक्तिहरूले अरू दलमा विलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनैपनि भ्रममा नपर्न आग्रह गरे । उनले नयाँ पार्टी गठन गर्दा अनेक अवरोध सिर्जना गरिएको भन्दै सबै बाधा अवरोध हटाउन सफल भएको तर्क गरे ।

उनले अहिले गाउँ–गाउँसम्म नेकपा (एकीकृत समाजवादी)को पार्टी संरचना रहेको भन्दै त्यसलाई मजबुद बनाउदै लैजाने बताए । अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन निर्देशन दिए ।

त्यस्तै उनले संसदमा जनताका बिषयलाई उजागर गर्न सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV