१३ भाद्र २०७८, आईतवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्माले संघलाई राजनीतिले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएका अधिकांश मुद्दाहरु राजनीतिसँग जोडिएको भएपनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको हो ।

२००५ देखि एनआरएनएमा आबद्ध हुनुभएको डा.शर्मा एनआरएनए अभियानका सुपरिचित व्यक्तित्व वर्तमान महासचिव दसौं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । राजनीतिप्रति आफू वितृष्णा र अनुदार नरहेको बताउँदै उहाँले भन्नु भयो, ‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेको प्रति मेरो आपत्ति हो ।’

उहाँले अगाडि भन्नुभयो, ‘हामी के सचेत छौं भने राजनीतिबिना यत्रो ठूलो संस्था चल्दैन र हाम्रो जतिपनि मुद्दाहरु छन् । त्यो राजनीतिसँगै जोडिएका छन् । तर, पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ ।’

एनसीसीको चुनावमा टिकट माग्न काठमाडौं जानुपर्ने र नेताहरुलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्ष रुपमा मन्त्रालय, हेडक्वाटर, सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कतै नपुर्याउने उहाँको भनाइ छ । मन्दिरको अगाडि जुत्ता छोडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनु पर्ने उहाँको बुझाइ छ ।

सोही क्रममा नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापाले एनआरएनएमा राजनीतिक चासो बढ्नुको कारण के होला भन्ने प्रश्नमा डा. शर्माले भन्नुभयो, ‘नेताहरुले बाहिर देख्ने एनआरएनएमा आकर्षण हुनुहुँदैन । यसबाट नेताहरुलाई केही फाइदा हुँदैन पनि । ठूलो र प्रोफेसनल मान्छे बाहिर छन् । त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला ।’

निर्वाचनलाई भद्रगोललाई मध्यनजर गर्दै के कस्ता कार्यक्रम ल्याउनु भयो ? भन्ने नेपाल पत्रकार महासंघ युरोपका केजिन राईको प्रश्नमा डा. शर्माले भन्नुभयो, ‘संस्थाको संरचना र निर्वाचनको पद्धतिसँग जोडिएका विषयलाई परिवर्तन गर्नु नै थियो । त्यही पद्धतिलाई सच्याउनका लागि गत जनवरीमा विशेष अधिवेशन बोलाएर विधानमा संशोधन गरेका छौं । पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधान अनुसार यसपाली अन्त्य गरेका छौं ।’

६५ प्रतिशत पुरानो एनसीसीआईसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ । यस्तै, १० प्रतिशत नयाँ कार्यसमिति (महिला, युवा एनआरएनएलाई योगदान गर्ने)लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ । जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने उहाँको भनाइ छ ।

‘गत वर्षको जस्तो निर्वाचनमा भद्रगोल नहोस् भनेर हामीले अनलाइन भोटिङको व्यवस्था बनाएका हौं’, उहाँले भन्नुभयो । यस्तो गर्दा निर्वाचनमा पोलिटिक्स कम हुने उहाँले बताउनुभयो । नीति तथा व्यवस्थापकीय तर्फ सुधार गर्न सकेमा पहिलेभन्दा व्यवस्थित रुपमा निर्वाचन सम्पन्न हुन सक्नेमा डा शर्मा विश्वस्त देखिन्छन् ।

‘सबैको साझा र सबैको अपनत्व हुनुपर्छ भन्ने मुद्दा हो र यसलाई पैसा र राजनीतिबाट टाढै राख्ने हामीले प्रयत्न गरिरहेका छौं । यसको लागि अनलाइन प्रणालीबाट मतदान गर्ने भएकाले गत सालको जस्तो भद्रगोल हुँदैन’, उहाँले थप भन्नुभयो, ‘जहाँ पैसा र पोलिटिक्स जोडिएको छ त्यसलाई शून्य बनाउनु पर्छ भनेर प्रि मेम्बरशीप र रजिस्ट्रेसन फीलाई शून्य बनाउने प्रयत्न ग¥यौं ।’

एनआरएनएमा यसप्रति जिम्मेवारीबोध गर्ने नेतृत्वको आवश्यक हुन्छ । जसले एनआरएनएको मर्मलाई आत्मसात गरेर विश्वभरका गैरआवासीय नेपालीको हक हितका लागि काम गर्नुपर्ने उहाँको बुझाइ छ ।

अनलाइनमार्फत् सम्पन्न भएको उक्त कार्यक्रममा डा शर्माको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरु राज कुमार थापा पोर्चुगल, द्रोण रिजाल, नेदरल्याण्ड, प्रेम चन्द्र पोमु जर्मनी, बाबा राजेश्वरी थापा अष्ट्रिया, दिनेश गौतम साइप्रस, कमल पराजुली स्पेनलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता एफएनजे युरोपका कावा अध्यक्ष केजिन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV