१२ भाद्र २०७८, शनिबार

काठमाडौं । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँका जनजीवनमा ठूलो परिवर्तन आएको खबरहरु बाहिरिएका छन् । यस्तै अफगानिस्तानको तेस्रो ठूलो सहर हेरातका बासिन्दाले तालिवानले सत्ता हातमा लिएयता आफ्नो जीवन पूर्ण रूपमा बद्लिएको बताएका छन्।

करिब पाँच लाख जनसङ्ख्या रहेको हेरात सहर अगस्ट १३ मा तालिवानले आफ्नो हातमा लिएको थियो । वर्षौँसम्म विभिन्न एनजिओमा काम गरेकी एक महिला साना र एक विद्यार्थीसंग बीबीसीले कुराकानी गरेको जनाएको छ । उक्त कुराकानीमा उनीहरूको सुरक्षाका लागि नाम परिवर्तन गरिएको छ।

दुवै जनाले विगतमा विदेशी सङ्घसंस्थाहरूसंग काम गरेको कारण उनीहरूलाई तालिवानबाट अरू मानिसको तुलनामा थप असुरक्षित बनाउन सक्ने जोखिम रहेको जनाएको छ ।

प्रत्येक दिन त्याहाँ तालिवानहरूले गैरसैनिकमाथि बल प्रयोग गरिरहेको विवरण आइरहेको जनाइएको छ । एक हप्ताअघि त्यहाँ तालिवानले केही सामान चोरेका दुई व्यक्तिको हात काटिदिएको उनी बताउँछिन्।

तालिवानले आफूले अहिले सत्ता नियन्त्रणमा लिएको र नयाँ शासक बनाउन लागेको भन्दै मानिसहरूलाई फोन गरेको र सन्देशहरू पठाएको खबरहरु आएको बताएकी छन् ।

पुरुषले जिन्स र टीसर्ट लगाउन नहुने र महिलाहरूले हिजाब वा बुर्का लगाउनुपर्ने र अरू मानिसहरूबाट अनुहार ढाक्नुपर्ने तालिवानहरुको भनाइ छ।

तालिवानहरूका कारण महिलाहरू सहरभित्र जान डराइरहेका छन्। लगभग ९९ प्रतिशत महिलाहरू घरमै बसिरहेका छन्। पुरुषहरू समेत घरबाट बाहिर निस्कन डराइरहेका बीबीसीमा उल्लेख छ।

तालिवानहरूसँग बन्दुक छ। उनीहरू साधारण मानिसजस्ता देखिँदैनन्। सहर गएका पुरुषहरू त्यहाँ लामो समय बस्न अप्ठेरो भएको बताउन्छ न्।

एक महिला भन्छिन्, ‘मेरो जीवनमा म पहिलो पटक घरमै बसिरहेकी छु। म एक हप्तादेखि घरमै छु। म बन्दी जस्तै भएकी छु। सम्भवतः यो मेरो जीवनको समाप्ति हो। अध्ययन छैन, काम छैन। मलाई बाहिर जान मन भए पनि मैले बुर्का वा हिजाब लगाउनुपर्छ जसले मलाई पीडा दिन्छ।’मेरो भविष्यलाई लिएर म चिन्तित छु। मेरो विगतको कामले मलाई जोखिममा पार्न सक्छ। र यो अवस्थामा म केही किन्न पनि बाहिर जान सक्दिन।’

विगतमा आफूले गर्ने गरेका काम गर्न अहिले असम्भव छ भन्दै एक महिलाले आफ्नो भविष्य पूर्ण रूपमा ध्वस्त भएको आभास भएको बताएकी छिन् ।

उनी भन्छिन्,’ तालिवानहरू मानव अधिकार शब्दलाई नै घृणा गर्छन्। मेरो विगतको कामका लागि उनीहरूले मलाई मार्ने प्रयास गर्ने छन्।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV