१२ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बिचार मिल्ने शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने धारणा राख्नुभएको छ । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले यस्तो धारणा राख्नुभएको हो ।

त्यस्तै उहाँले अहिले नै अन्य कुनै पार्टीसँग एकता नगर्ने तर, पार्टीको आधार बलियो बनाउने बताउनुभयो । यसैबीच अध्यक्ष नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताको प्रयास गरेको दाबी पनि गर्नुभएको छ ।

अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रिक पार्टी पनि दोश्रो पुस्ताले खोलेको दाबी गर्नुभएको हो । केपी ओलीको प्रवृतिविरुद्ध कुनै नयाँ पार्टी गठन गरौं भन्दै दोश्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उहाँको भनाइ छ ।

उहाँले यसअघि नयाँ पार्टी खोलौ भन्ने नेताहरुले नै आफूहरुको पार्टीको बिरोध गरेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टी आए आफू अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर बिचार र सिद्धान्तका लागि गठन भएको उहाँले बताउनुभयो । फरक प्रसंगमा उहाले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफूले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV