१२ भाद्र २०७८, शनिबार
  • महेश पाण्डे,

चितवन । कुखुराको सुलीबाट बिजुली निस्किन्छ भन्दा जो–कोहीलाई बिश्वास नलाग्न सक्छ । तर, चितवनको खैरहनी नगरपालिका–१, ज्यामिरेमा रहेको अन्नपुर्ण पोल्ट्री बिल्डर्स फार्म प्रा.ली.ले भने नेपालमै पहिलो पटक कुखुराको सुलीबाट ६२ केभीए बिजुली निकाली रहेको छ ।

जसबाट उक्त पोल्ट्री फार्मले आफ्नै २ लाख १५ हजार कुखुरा रहेको फार्मलाई रु १ लाख बराबरको बिजुली निकालेर प्रयोग गरिरहेको छ । सो पोल्ट्री फार्मका सञ्चालक अर्जुन अर्यालका अनुसार उर्जा बिकास केन्द्रको सहयोगमा तयार पारिएको प्रपोजल पेस गरि रु ५४ लाख विश्व बैंकको अनुदानमा र बाँकी आफ्नै गरि जम्मा करिब १ करोड ६५ लाखको लगानीमा ५०० घनमिटरको डोम बनाई त्यसबाट मिथेन ग्यासलाई निकालेर बेलुनमा भरि कन्भर्टरबाट जेनेरेटरमा पठाई ६२ केभीए बराबरको बिजुली उत्पादन भइरहेको हो ।

अर्यालले आफूले १५ वर्षअघि ब्यवसाय सुरु गर्दा सुलीबाट बिजुली निस्कन्छ भन्दा कसैले नपत्याएको बताउदै अहिले आफ्नो खोरलाई पुग्ने गरि झिलिमिली बिजुली बलेको देख्दा सबै दंग पर्ने गरेको बताए ।

उनले सो समयमा ५०÷५० घन मिटरको ५ वटा ट्याङ्की बनाई सुलिबाट ग्यास निकालेर फार्ममा काम गर्ने सबैलाई प्रयोग गर्न दिएको बताए । सो समयमा बिजुली निकाल्ने आफ्नो सपना भएपनि जेनेरेटरलाई मात्रै ५० लाख पर्ने भएपछि पैसा अभावका साथै देशको राजनीतिक अवस्था, कुखुरामा देखिएको रोग तथा बैंकले पनि झट्ट बिस्वास गर्ने वातावरण नबनेपछि सो कार्य गर्न नसकेको बताए ।

अहिले हरेक दिन ६ घण्टा जति सुलीको प्रयोगबाट बिजुली निस्किरहेको अर्यालको भनाइ छ । हुन त सो जेनेरेटर सञ्चालन गर्दा १० प्रतिशत जति डिजेलको पनि प्रयोग हुने गरेको अर्यालले बताए ।

सञ्चालक अर्यालले आफने सोच भनेको अबका दिनमा २ हजार घनमिटरको डोम बनाई २५० केभीए बिजुली उत्पादन गर्ने रहेको बताए । जसको लागि अर्यालका अनुसार करिब १२ करोड खर्च लाग्ने छ ।

यदि त्यसो हुन सकेमा महिनामा करिब ६ लाख बराबरको बिजुली उत्पादन हुने अर्यालको भनाइ छ । उनले यदि सो कार्य गरेमा ज्यामिरे चोकदेखि आफ्नो फार्म सम्म आउने ठाउँसम्म रहेका करिब १ किलोमटर क्षेत्रमा रहेका बिजुलीका पोलमा निशुल्क बिजुली दिने बताए । त्यसका लागि उनले सो वडाका वडा अध्यक्षसँग पनि कुरा भइसकेको सुनाए ।

अझ अर्याल त सुलीलाई सबैले दुर्गन्धको रुपमा ब्याख्या गरिरहदा फोहोरबाट मोहोर पनि बन्ने र सुलीको गन्ध पनि हराउने भएकाले यो निकै उपयोगी रहेको बताउछन् ।

२०५८ सालमा नेपालमै पहिलो पटक अटो मेसन प्रविधिमार्फत् आफ्नो २ बिगाहा ८ कठ्ठा जग्गा क्षेत्रफलमा साढे २ करोडको लगानीमा ५० हजार लेयर्स कुखुरा पाल्न सुरु गरेका अर्यालको अहिले लगानी बढेर करिब ५० करोड पुगेको छ, भने कुखुराको संख्या पनि २ लाख १५ हजार पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV