१२ भाद्र २०७८, शनिबार

एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ । हालै काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी भएको आतंकवादी हमलाका योजनाकारलाई निशाना बनाइएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ ।

बिबिसीका अनुसार काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमण हुन सक्ने भन्दै विमानस्थलका प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

बिहीबार काबुल विमानस्थलमा ठूलो विस्फोट गराइएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसमा संलग्न जिहादी समूहलाई अमेरिकाले नछाड्ने बताएका थिए । उक्त विस्फोटको जिम्मा इस्लामिक स्टेट खोरसान अर्थात् आइएस–के भन्ने समूहले लिएको थियो।

इस्लामिक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो ।

उता हालै सत्ता कब्जा गरेको तालिबानका उच्च अधिकारीहरूले काबुल विमानस्थलको मुख्य भाग आफूले नियन्त्रणमा लिइसकेको र अमेरिकी सेनाहरू सबै जानेबित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५,००० अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन्।

उनीहरुले अन्तिम समयसम्मै देश छाड्न चाहने अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा नै रहेको बताइरहेको छ।

अमेरिकाले प्रारम्भिक सङ्केतहरू हेर्दा इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहती नभएको बताएको छ। काबुल विमानस्थल बाहिर रहेका महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको उक्त समूहका योजनाकारहरु मारिएको दाबी गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV