११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली राजनीतिक वृत्तमा एकै दिन दुईवटा नयाँ दलको उदय भएसँगै त्यसले पार्ने प्र्रभावका बारेमा पनि चर्चा छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले राजनीतिक दलको मान्यता पाएसँगै नेपालमा राष्ट्रिय दलको संख्या ६ पुगेको छ ।

राजनीतिक इतिहासमा दलहरु फुट्ने र जुट्ने क्रम नौलो होइन । तर, स्थापित दलहरुको संख्या भने सीमित छ । पहाडमा बलियो पकड रहेको कम्युनिष्ट पार्टी र मधेसमा प्रभाव जमाएको मधेसवादी पार्टी विभाजनले राष्ट्रिय राजनीतिका पार्ने प्रभाव के हुनसक्छ ?

प्रमुख प्रतिपक्षी दल एमालेबाट नेता नेपाल नेतृत्वमा पार्टी विभाजन भएको छ भने मधेस केन्द्रित दल जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा ठूलो समूह चोइटिएको छ । यसले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने कतिपयको विश्लेषण छ ।

एमालेबाट फुटेको माधव नेतृत्वको एकीकृत समाजवादीले दलको मान्यता पाएपछि सो दल संसदको चौथो ठूलो दल बनेको छ । सो पार्टीले करिब ३० प्रतिशत केन्द्रीय सदस्य र सांसदको साथ पाएको छ । तत्कालीन एमालेबाट टुक्रिएको दलमा २३ जना प्रतिनिधिसभा सांसद र ७ जना राष्ट्रियसभा सांसद छन् ।

दल दर्ता गर्न ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । यस्तै निर्वाचन आयोगमा उपस्थित भएपनि ४ जना सांसद र ४ जना केन्द्रीय सदस्यले सनाखत गर्न पाएनन् । एकीकृत समाजवादीले कम्युनिष्ट पार्टीको मूल्य मान्यतालाई अंगिकार गर्ने जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुर्नगठन र रुपान्तरणका लागि पार्टी स्थापना भएको जनाएको छ । यस्तै जसपाबाट टुक्रिएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि अलग दलको मान्यता पाएसँगै संसदको छैटौं दल बनेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले तत्कालिन जसपाबाट १४ जना प्रतिनिधिसभा सांसद, १ जना राष्ट्रिय सभा सांसद गरी ३८ प्रतिशत र केन्द्रीय सदस्यतर्फ ३३ प्रतिशत नेताको साथ पाएको छ । नवगठित लोसपाले पनि पुरानै विचारधारालाई अंगिकार गरेर अगाडि बढ्ने लक्ष्य राखेको छ ।

पार्टीले लोकतान्त्रीक शक्तिका रुपमा समाजमा रहेको विभेदलाई अन्त्य गर्दै समतामूलक समाज निर्माणमा केन्द्रीत हुने जनाएको छ । तर, फुटेका पार्टीहरुले क्षणिक स्वार्थको लागि नयाँ दल गठन गरेकोले ती दलबाट धेरै अपेक्षा गर्न नसकिने राजनीतिका जानकारहरु बताउँछन् । अझ उनीहरु फुटेर बनेका दलको आफ्नै पु्रानो दलसँग तिक्ततापूर्ण सम्बन्ध हुने विश्लेषण गर्छन् ।

नेपालको राजनीतिक इतिहासमा दल फुट्ने, जुट्ने र नयाँ दल खोलिने क्रम नयाँ भने पछिल्लो विभाजन भने अनपेक्षित रहेको कतिपयको बुझाई छ । तर, यसरी फुटेर बनेका दलहरुले विगतमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने हैसियत बनाउन सकेको देखिँदैन ।

अहिले फुटेका दलहरुले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने गरि आफ्नो फ्ुटको औचित्य स्थापित गर्दै राष्ट्रिय राजनीति तरंगित बनाउलान् वा विगतकै फुटको निरन्तरतामा सीमित रहला ? त्यो थाहा पाउन भने केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV